गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल : जेठ २ देखि व्यावसायिक उडान शुरू हुँदै

Image Not Found

काठमाडौं,फागुन,६-नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी बुद्धजयन्ती (जेठ २ गते)देखि भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान शुरू गर्ने भएको छ। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार विमानस्थलको व्यावसायिक सञ्चालन गर्नुपूर्व एरो थाईले शुक्रवारदेखि परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) गर्दै छ ।

क्यालिब्रेशन फ्लाइट सम्पन्न भएपछि व्यावसायिक उडानका लागि एक समिति गठन गरिएको छ।उक्त समितिलाई जेठ २ देखि व्यावसायिक उडान शुरू गर्नेगरी काम गर्न जिम्मेवारी दिइएको उहाँले बताउनुभयो।निर्माण शुरू भएको झन्डै ७ वर्षमा उक्त विमानस्थलमा परीक्षण उडान हुन लागेको हो । थाइल्यान्डको एयरलाइन्स कम्पनी एरो थाईले १० दिनसम्म परीक्षण उडान गर्नेछ ।

जेठदेखि व्यावसायिक उडान शुरू गर्ने योजनाअनुसार एरो थाईको एउटा विमानले शुक्रवारदेखि फागुन १५ गतेसम्म परीक्षण उडान गर्ने विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले पुष्टि गर्नुभयो । विमानस्थलले परीक्षण उडानका लागि बिहान १० बजेदेखि साँझ ५:३० बजेसम्म समयतालिका राखेको छ ।

परीक्षण उडान दैनिक ६ देखि ८ पटकसम्म हुनेछ । यसैगरी बिहान १० देखि बेलुका साढे ५ बजेसम्मका लागि भने भैरहवास्थित उक्त विमानस्थलमा आन्तरिक एयरलाइन्स कम्पनीले उडान गर्न पाउने छैनन् । दाहालका अनुसार एरो थाईले परीक्षण उडान गर्ने समय दिउँसो रहेकाले उक्त समयमा उडान गर्न रोक लगाइएको छ । शुक्रवारदेखि १० दिनसम्म आन्तरिक उडान बिहान र बेलुका (५ बजेपछि) गरिने तालिका बनाइएको उहाँले जानकारी दिनुभयो ।

बेलुका रातिका उडान जति बेलासम्म आए पनि विमानस्थलमा सेवा निरन्तर रहने उनको भनाइ छ।बिहीवार आएको एरो थाईको विमानसहित सात प्राविधिकसहितको टोली काठमाडौंबाट भैरहवा विमानस्थल पुगेको छ।विमानस्थलको धावनमार्ग, लाइटिङ प्रणाली, हवाई सञ्चार (टावर कम्युनिकेशन), अवतरणलगायत पक्षको जाँचका लागि क्यालिब्रेशन उडान गरिन्छ ।

उक्त एयरलाइन्स कम्पनीले १० दिनसम्म परीक्षण उडान गरेर प्रतिवेदन तयार गर्ने र त्यसमा सुधार गर्नुपर्ने पक्षका साथै व्यावसायिक उडानका लागि मिति निक्र्योल गर्न सुझाव दिनेछ ।