अफगानिस्तानमा चरमपन्थी हमला

५० सर्वसाधारणको मृत्यु

काबुल, साउन २३-

अफगानिस्तानको सारीपुल प्रान्तमा भएको चरमपन्थी आक्रमणमा कम्तीमा ५० जना सर्वसाधारणको मृत्यु भएको छ । मारिनेमा महिला र बालबालिकासमेत छन् ।

सारीपुल प्रान्तको मिर्जावालाङ्ग क्षेत्रस्थित एक सुरक्षा चौकीलाई चरमपन्थीहरुले निशाना बनाएका थिए । यो चौकीको नेतृत्व स्थानीय पुलिस नै लिएका थिए ।

सुरक्षा चौकीमा आक्रमण गरेपछि चरमपन्थीहरुले गाउँमा रहेका सिया मुसलमानलाई निशाना बनाउन शुरु गरेका थिए । उनीहरुले नजिकका घरमा आगोसमेत लगाइदिएका थिए ।

यसैबीच अफगानिस्तानका राष्ट्रपति असरफ घानीले चरमपन्थी आक्रमणको निन्दा गरेका छन् । उनले चरमपन्थीहरुले महिला र बालबालिकासहित सर्वसाधारणलाई निशाना बनाएर मानवअधिकारको घोर उल्लंघन र युद्ध अपराध गरेको आरोप लगाए ।

सारीपुल प्रान्तका प्रवक्ताले चरमपन्थीहरुले सर्वसाधारणलाई निर्दयी तरिकाले हत्या गरेको बताए । उनले अफगान सुरक्षा बलका सात जवानको समेत मृत्यु भएको जानकारी दिए । उनले हमलामा तालिवान र इस्लामिक स्टेट समूहका लडाकु संलग्न रहेको र त्यसमा केही विदेशी लडाकुसमेत संलग्न रहेको आरोप लगाए । (एजेन्सी)