एमालेलाई मधेसी मोर्चाको प्रश्न: निर्दोष मधेसी मारेकामा तिमीलाई अझै अपराध बोध भएको छैन

काठमाण्डु,फागुन २५-
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले एमालेलाई सप्तरी नरसंहारको नाइकेको आरोप लगाउँदै आफ्नै कारणले निहत्था जनता मारिँदासमेत एमाले नेतृत्वको चेत नफिरहेको टिप्पणी गरेको छ ।संघीय समाजवादी फोरमको कार्यालय तिनकुनेमा बसेको मोर्चा बैठकमा मोर्चा नेताहरु एमालेविरुद्ध मजैले खनिए । बैठकले सप्तरी घटनापछि पनि एमालेले अपराध बोध नगरेको निस्कर्ष निकालेको छ ।

एमालेले पार्टी मुख्यालय धुम्बाराहीमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको विज्ञप्तिमा सर्वसाधारण मारिएको घटनालाई अभियानको सफलता र आफ्नो पक्षमा जनताको व्यापक समर्थन देखिएको भन्दै प्रशन्नता व्यक्त गर्नुलाई मोर्चाले अपराधको संज्ञा दिएको छ ।

विज्ञप्तिमा हेरियो, मेची–कहाकाली अभियान भव्य रुपमा सफल भएको भनिएको रहेछ’, फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादवले भन्नुभयो, ‘निहत्था जनतालाई गोलीले मार्दासमेत अझै एमालेलाई अपराध बोध नभएको प्रमाण योभन्दा अरु हुन सक्दैन एमालेले आफूहरु संयम हुँदाहुँदै मोर्चाकै कारण घटना भएको विज्ञप्तिमा जनाएको छ ।

एमालेले जातीय उत्तेजना र दंगा फैलाएर परिवर्तन उल्ट्याउन खोजेको अरोप मोर्चाले लगाएको छ । मधेस र पहाडबीचमा भिडन्त गराउने र जातीय दंगा फैलाएर नक्कली राष्ट्रवाद विजयी भएको देखाउन होडमा एमाले छ’, यादवले भन्नुभयो, ‘सप्तरी घटनाले एमाले स्वयं चुनावको पक्षमा नरहेको पुष्टि गरेको छ । (साभार काठमाण्डौं टुडे)