ओखलढुंगाका मतदातालाई समानुपातिक मतपत्रमा झुक्किने डर

सिर्जना बर्देवा/
ओखलढुंगा,कार्तिक २९-

ओखलढुंगामा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा कार्यकर्ता मतदाताको घरदैलोमा पुगीरहेका छन् । यस निर्वाचनमा बदर मतको संख्या घटाउने उदेश्यले निर्वाचन शिक्षा कार्यकर्ताहरु जनताको घरदैलोमै पुगेका हुन्। जिल्ला निर्वाचन कार्यालयबाट तालिम लिएका १ सय ४१ जना स्वयमसेवकहरु मतदाता शिक्षा सामग्रीसहित गाउँगाउँमा पुगेकोे जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले जनाएको छ।

निर्वाचन आयोगले प्रत्यक्षतर्फको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि अलग अलग मतपत्र छापेको भए पनि समानुपातिक तर्फको भने मतपत्र एउटैमा छ । प्रत्यक्ष चुनावका लागी कम मतदान चिह्न भएको र प्रदेश तथा प्रतिनिधिसभाका लागी अलग अलग मतपत्र भएकाले मतदातालाई सहजै हुने भएको छ । तर समानुपातिक तर्फको मतपत्र भने प्रदेश र प्रतिनिधिसभाका लागि एउटै हुने भएकाले पनि मतदाताहरु झुक्किन थालेको निर्वाचन शिक्षा कार्यकर्ताहरुले बताएका छन् ।

चिसंखुगढी गाउपालिका वडा नम्बर ३ स्थित गाबिस भवन मतदान केन्दका केही मतदाता भने समानुपातिक मतपत्रमा झुक्किएको निर्वाचन शिक्षा कार्यकता ढकराज थापाले बताए ।प्रत्यक्षमा एक चिह्नमा छाप लगाउनुपर्ने र समानुपातिकमा प्रतिनिधीसभा र प्रदेशसभाका लागि माथिल्लो र तल्लो भागमा दुई चिह्नमा छाप लगाउने कुरा मतदातालाई झुक्किएको उहाँको भनाई छ । तर धेरै निर्वाचन क्षेत्रका मतदातहरु भने मतपत्रका बिषयमा प्रस्ट रहेको स्वयमसेवकहरुले बताएका छन् ।

मतदाताहरुमा सिकाउन जादा यस अघि नै नेताहरुले सिकाएको बताउने गरेका छन् । यसअघिको निर्वाचनमा मतदाता शिक्षा स्वयंसेवकहरू कमै मत्रामा गाउँघरमा पुगेको गुनासो आईरहेको भएपनि यो चुनावमा भने ढिलो गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुँदा झन् समस्या हुने देखिएको छ।

तर मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बनाउन प्रत्येक गाउँपालिकाका कार्यकारी अधिकृत, वडा अध्यक्ष लगायतलाई आग्रह गरिएकाले मतदाता शिक्षा प्रभावकारी हुने निर्वाचन कार्यालयको विश्वास छ। ओखलढुंगामा आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा १ लाख २ हजार २ सय ६३ जना मतदाता सहभागी हुदैछन् ।