मानव अधिकार संरक्षणका लागि सरकारी तथा गैरसरकारी सस्था जिम्मेवार हुनुपर्ने

रोशन घर्ती/

दाङ,पौष,१४-

दाङ जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले मानव अधिकार संरक्षणका लागि सरकारी तथा गैरसरकारी सस्था एवं कार्यालय जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । हरप्लेस दाङले लक्ष्मीपुरको गोग्लीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख नेपालीले यस्तो बताउनुभएको हो ।

हरप्लेस दाङले जिल्लाका पाँच विद्यालयमा सञ्चालन गरेको मानवअधिकार तथा शान्ति र सुशासन शिक्षाका विषयमा भएको कार्यक्रममा बोल्दै विद्यालय तहबाट थालिएको शिक्षा सकारात्मक भएको बताउनुभयो । कार्यक्रमको बिशेष सहभागी भएर नेपालीले मानव अधिकारका लागि सबै तहबाट सचेतना फैलाउनुपर्ने बताउनुभयो ।

विद्यार्थीहरुसंगको अन्तरक्रियामा बोल्दै प्रमुख नेपालीले गाँस, बास कपास तथा शिक्षा र स्वास्थ्यका लागि सबैले राज्यलाई दवाव दिनुपर्ने बताउनुभयो ।त्यस अवसरमा बोल्ने बक्ताहरुले मानवअधिकारका घटनाका न्युनीकरण भएको बताएका थिए । मानवअधिकारका घटना न्युन गराउनका लागि सबैले सबैको दवाव आवश्यकता भएको बताउनुभयो ।

त्यस अवसरमा विद्यार्थीहरुले मानवअधिकारका विषयमा जिज्ञासा राखेका थिए । कार्यक्रममा मावि गोग्लीका प्रधानाध्यपक सतीशकुमार आचार्य, हरप्लेस दाङका कार्यक्रम संयोजक विनोद केसी, शिक्षक डोमाकान्त अधिकारीले बोल्नुभएको थियो ।

हरप्लेस दाङले जिल्लाका पाँच महिनामा मानवअधिकार तथा शान्तिका लागि विद्यार्थीलाई साप्ताहिक रुपमा कक्षा दिदै आएको छ भने पछिल्लो समयमा मानवअधिकार तथा सुशासनका विषयमा कक्षा सञ्चालन गर्दै आएको छ । हरप्लेसले रामपुर मावि बुका, मावि गोग्ली, मावि रझेना, रावतगाउँ मावि सौडियारमा कक्षा सञ्चालन गरीरहेको छ ।