
काठमाडौं,भदौ,२७-नेपालले पहिलो महिला प्रधानमन्त्री पाएको छ।पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाए संगै देशले पहिलो महिला नेतृत्व पाएको हो।
राष्ट्रपति कार्यालयमा शुक्रबार साँझ भएको सहमतिसँगै कार्कीले प्रधानमन्त्रीको शपथ लिएका हुन्।यो सँगै उहाँ देशको पहिलो महिला नेतृत्वको रुपमा बागडोर सम्हाल्न पुग्नु भएको छ।यस अघि कार्कीले पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रच्नु भएको थियो।
प्रधानन्याधीशबाट अवकाशको करिब आठ वर्षपछि कार्यपालिकाको नेतृत्व गर्ने पहिलो महिला सरकार प्रमुखको इतिहास पनि रच्न सफल हुनु भएको थियो।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा-६१ अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको हो।नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन भएका थिए ।
युवा (जेन-जी) आन्दोलनका बलमा प्रधानमन्त्री बन्नु भएका कार्कीले संविधानको धारा ६१ अनुसारको नियुक्तिपत्र पाउनु भएको हो।नेपालको संविधानको धारा-६१ मा राष्ट्रपति सम्बन्धी व्यवस्था छ, जसमा प्रधानमन्त्रीको पद, अधिकार र नियुक्तिको कुनै प्रसंग उल्लेख छैन।
संविधानको धारा ६१ (१ र २)मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने व्यवस्थाका साथै राष्ट्रपतिले संविधान र संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्ने व्यवस्था छ।
राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्नेछ अनि संविधानको पालन र संरक्षण गर्ने व्यवस्था पनि सोही धारामा छ।राष्ट्रपतिले आफ्नो काम, कर्तव्य र क्षेत्राधिकारको विषय उल्लेख भएको धारा अनुसार प्रधानमन्त्री नियुक्त गर्नु भएको हो।





