एकैदिन ३४३९जनामा कोरोना संक्रमण,१५ को मृत्यु,११२६ जना डिस्चार्ज

काठमाडौं,असोज,२१-नेपालमा बुधवार थप ३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।बुधवार थपिएका कोरोना संक्रमितको  संख्या नेपालमा अहिलेसम्मकै उच्च हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप १५ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ५७८ जनाको मृत्यु पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार बुधवारसम्ममा नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार ७ जना रहेका छन् ।त्यसैगरी हाल क्वारेन्टाइनमा ४ हजार १६४ जना रहेका छन् । आईसोलेशनमा २५ हजार ७ जना रहेका छन् ।विगत २४ घण्टामा मात्र १ हजार १२६ जना संक्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना निको हुनेको संख्या १ हजार १२६ रहेको छ ।

हाल संस्थागत आईसोलेसनमा १० हजार ५९६ जना र होम आईसोलेशनमा १४ हजार ४११ जना रहेका छन् । गत २४ घण्टामा १४ हजार २०९ ओटा पीसीआर परीक्षण भएको छ । हालसम्म मुलुकभर कुल ११ लाख १३ हजार ४८५ परीक्षण भइसकेको छ ।

मन्त्रालयका प्रवक्ता गौतमले काठमाडौं उपत्यकामा संक्रमितहरूको व्यवस्थापन गर्न थप चुनौती देखिएको भन्दै यही स्तरमा संक्रमण दर बढिरहे उपत्यकाका अस्पतालहरूले भार थेग्न नसक्ने पनि बताए ।

उनले हालसम्म ६८ हजार ६६८ जना डिस्चार्ज भएको बताए । बुधवार थपिएका कोरोना संक्रमितमध्ये १ हजार ६८४ जना काठमाडौं उपत्यकाका रहेका  छन् । संक्रमितमध्ये काठमाडौं जिल्लाका १ हजार २९६ जना, ललितपुर जिल्लाका २९३ जना र भक्तपुर जिल्लाका ९५ जनामा संक्रमण पुष्टि भएको हो।