माओवादीबाट एमाले प्रवेश गरेका चार नेताको मन्त्री र सांसद पद खारेज

पुनः मन्त्री नियुक्त गर्ने सम्भावना

फाईल तस्विर !!

काठमाडौं,चैत,२६-नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्री सांसद पदबाट पदमुक्त भएका छन् ।

प्रतिनिधिसभाको शुक्रबार बोलाइएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको जानकारी गराउनुभएको हो ।

माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद सचिवालयलाई पत्र पठाएर एमाले प्रवेश गरेका अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्टराइ, रौतहट–३ का प्रभु साह र कैलाली–३ का गौरीशंकर चौधरीले पार्टी परित्याग गरेको जानकारी गराउनुभएको थियो ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुन्छन् ।

चारैजना सांसद मन्त्री छन् । संविधान अनुसार प्रतिनिधिसभा सदस्य नहुनेवित्तिकै मन्त्री पद रिक्त हुन्छ ।उनीहरुलाई पदमा कायमै राख्नका लागि पुनः मन्त्री नियुक्ति गर्नुपर्ने कानुनी व्यवस्था छ ।

यसैबिच: उनीहरुलाई पुनः मन्त्री नियुक्त गर्ने सम्भावना छ । ‘उहाँहरुले पार्टी एकताका लागि जुन योगदान गर्नुभएको छ, त्यसलाई हेर्दा प्रधानमन्त्रीले उहाँहरुलाई तुरुन्तै पुनः मन्त्री नियुक्ति गर्नुहोला’ पूर्वसभामुखसमेत रहेका सुवाश नेम्वाङले भने ।

संविधानको धारा ७८ मा संघीय संसदको सदस्य नभएका व्यक्तिलाई पनि मन्त्री नियुक्त गर्नसक्ने उल्लेख छ । यसरी नियुक्त मन्त्रीले शपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता प्राप्त गर्नुपर्नेछ, नभए तत्काल कायम रहेको प्रतिनिधिसभाको कार्यकालभर मन्त्री पदमा पुनः नियुक्तिका लागि अयोग्य हुनेछ ।