त्रिभुवन आर्मी एएफसी कपको दोस्रो चरमा,श्रीलंका पुलिस ५-१ गोलले पराजीत

फाईल तस्विर !!

काठमाडौं,चैत,२५-नेपालको त्रिभुवन आर्मी फुटबल क्लब एएफसी कप-२०२१ प्ले अफको दोस्रो चरणमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा श्रीलंका पुलिस स्पोर्ट्स क्लबलाई ५-१ गोल अन्तरले पराजित गर्दै आर्मीले दोस्रो चरणको यात्रा तय गरेको हो ।

आर्मीलाई पुनरागमन जित दिलाउन नवयुग श्रेष्ठले २ गोल गरे । यस्तै  सन्तोष तामाङ, टंक बहादुर बस्नेत, सुदिल राईले एक एक गोल गरे ।श्रीलंका पुलिसका इभान्सले एक गोल फर्काए ।

श्रीलंका पुलिसविरुद्ध त्रिभुवन आर्मी सुरुवातबाटै आक्रामक रुपमा प्रस्तुत भएको थियो ।खेलको १० औं मिनेटमा आर्मीका सन्तोष तामाङको डिबक्स बाहिरबाटको सशक्त प्रहार श्रीलंका पुलिसका गोलकिपर दिनेश महिन्दरणले बचाए ।

खेलको १२ औं मिनेटमा भरत खवासले गोलकिपर दिनेशलाई बिट गर्दै प्रहार गरेको बल श्रीलंका पुलिसका ए निकोलसले गोललाइनबाट बचाए ।

लगत्तै १३ औं मिनेटमा भरतको उत्कृष्ट हेडर श्रीलंका पुलिसका गोलकिपरले पन्च गर्दै बाहिर फाल्दा आर्मी अग्रता बनाउन चुकेको थियो ।खेलको २१ औं मिनेटमा श्रीलंका पुलिसका इभान्सको प्रहार आर्मीका गोलकिपर विश्वास चौधरीले सहजै रोके ।

तर, खेलको २८ औं मिनेटमा इभान्सले गोल गर्दै श्रीलंका पुलिसलाई सुरुवाती अग्रता दिलाए ।खेलको ३९ औं मिनेटमा टंक बहादुर बस्नेतको क्रसमा भरतको हेडरले पोस्टको दिशा लिन सकेन ।

४१ औं मिनेटमा आर्मीले खेल १-१ को बराबरीमा ल्यायो । सन्तोषले डिबक्स बाहिरबाट उत्कृष्ट हाफ भली गोल गरेका थिए ।खेलको ४३ औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई पहिलो हाफमा २-१ को अग्रता दिलाए । उनले भरतको क्रसमा हेडमार्फत गोल गरे ।

दोस्रो हाफमा पनि आर्मीले श्रीलंका पुलिसविरुद्ध लगातार आक्रमण गर्यो ।खेलको ५० औं मिनेटमा टंकले गोल गर्दै आर्मीलाई ३-१ को अग्रता दिलाए । श्रीलंका पुलिसका गोलकिपरले पन्च गर्दा आएको बलमा उनले गोल गरेका हुन् ।

खेलको ७१ औं मिनेटमा श्रीलंका पुलिसका इभान्सको कडा प्रहार क्रस बारमा लागेर फर्किएको थियो ।खेलको ८३ औं मिनेटमा सब्सिच्युड खेलाडी सुदिलले गोल गर्दै आर्मीलाई ४-१ को अग्रता दिलाए । उनी ६३ औं मिनेटमा टंकको स्थानमा मैदान प्रवेश गरेका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा नवयुगले गोल गर्दै आर्मीलाई ५-१ को जित दिलाए  ।अब आर्मीले दोस्रो चरणमा भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ । उक्त खेल बैशाख १ मा हुनेछ ।

भारतको बेंगलुरुलाई पराजित गरेको खण्डमा आर्मीले अप्रिल २१ मा हुने प्ले अफको फाइनल खेल खेल्नेछ ।

यस प्ले अफको विजेताले समूह चरणको समूह ‘डी’ स्थान बनाउने छन् । समूह ‘डी’ मा भारतको मोहुन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया एण्ड रिक्रिएसन रहेका छन् । यस समूहका समूह चरणका खेलहरु मे १४ बाट सुरु हुनेछ ।

एएफसीको क्लब लाईसेन्स प्राप्त गरेपछि आर्मीले पहिलो पटक एएफसीको प्रतियोगिता खेलेको हो ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उपविजेता बनेपनि च्याम्पियन मछिन्द्रको लाईसेन्स नहुँदा आर्मीले प्ले अफको मौका पाएको हो ।