बङ्गलादेश पुगेका थुप्रै विद्यार्थी ठगिने

काठमाडौ,मङ्सिर,११-

एमबीबीएस अध्ययनका लागि बङ्गलादेश पुगेका थुप्रै विद्यार्थी ठगिने गरेका छन् । बङ्गलादेश पुगेर ठगिने मात्र होइन, नेपालमै शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी)बाट ठगिने गरेका छन् । नेपाल मेडिकल काउन्सिलका अनुसार सयौँ विद्यार्थी बङ्गलादेशमा गएर ठगिएका छन् ।

नेपाली कन्सल्टेन्सीहरूले बङ्गलादेश पठाएबापत प्रतिविद्यार्थी तीनदेखि पाँचलाख रुपियाँसम्म लिने गरेका छन् । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बाँस्कोटाले एमबीबीएस अध्ययनका लागि भरसक बङ्गलादेश नजान र जाँदा राम्रोसँग बुझेर मात्र जान आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “ठगिने नेपाली विद्यार्थीको लामो सूची प्राप्त भएको छ ।

” नेपाली विद्यार्थी बङ्गलादेश गएर मेडिकल कलेजमा अध्ययन गरेको एक÷दुई वर्षमा पनि ठगिने गरेका छन् । काउन्सिलका अनुसार बङ्गलादेशमा विदेशी विद्यार्थीहरूका लागि ३० प्रतिशतमात्र सिट छुट्याइएको हुन्छ । कुनै कुनै कलेजमा विदेशी विद्यार्थीका लागि ३० जना कोटा भए पनि ५० जना नेपाली विद्यार्थीलाई भर्ना गरिएको पाइएको छ ।

भारत, बर्मा लगायतका देशबाट समेत बङ्गलादेशमा एमबीबीएस अध्ययन गर्न जाने विद्यार्थीको सङ्ख्या धेरै हुने भएकोले नेपालबाट जाने विद्यार्थीले एमबीबीएस अध्ययनका लागि अवसर नपाउने प्रस्ट्याउनु भयो ।

बङ्गलादेशका मेडिकल कलेजहरूले पनि नेपाली कन्सल्टेन्सीलाई जति पनि विद्यार्थी पठाउन भनेकोले कलेज र कन्सल्टेन्सी मार्फत नेपालीहरू ठगिँदै आएको काउन्सिलको दाबी छ । उहाँले भन्नुभयो, “जथाभावी कमिसन खाएर विद्यार्थी पठाउने कन्सल्टेन्सीलाई सरकारले नियन्त्रण गर्न सक्नुपर्दछ । ”

बङ्गलादेश गइसकेपछि विद्यार्थीलाई बङ्गलादेशको मेडिकल कलेजले भर्ना गरिदिन्छ । अध्ययन गर्न पनि पाएकै हुन्छन् । अध्ययनपछि परीक्षा पनि दिने गरेका छन् तर परीक्षा दिइसकेपछि नतिजा प्रकाशनका बेला नेपाली विद्यार्थीहरूको नतिजा अनुत्तीर्ण भनी उल्लेख हुने गरेको छ । आजको गोरखापत्रमा खबर छ ।