मध्यपश्चिममा वार्षिक सात अर्ब १९ करोड बढीको इन्धन खपत हुँदै

बाँके,फागुन ४-मध्यपश्चिमका विभिन्न जिल्लामा वार्षिक सात अर्ब १९ करोड बढीको डिजल, पेट्रोल मट्टी तेल र हवाई इन्धन लगायतको इन्धन खपत हुने गरेको छ । नेपालगञ्जको राँझास्थित नेपाल आयल निगमको क्षेत्रीय कार्यालयले दिएको जानकारी अनुसार मध्यपश्चिममा मात्र गत आर्थिक वर्षमा सात अर्ब १९ करोड ६२ लाख ३ हजार ४ सय ३९ रुपैयाँ बराबरको इन्धन खपत भएको छ ।

आयल निगमको क्षेत्रीय कार्यालयका अनुसार मध्यपश्चिमको प्रमुख व्यापारिक केन्द्र बाँकेमा सबैभन्दा बढी दुई अर्ब ४४ करोड ८४ लाख ६३ हजार तीन सय ८९ रुपैयाँको इन्धन खपत भएको थियो भने बर्दियामा एक अर्ब चार करोड ९५ लाख पाँच हजार आठ सय २० र सुर्खेतमा करिब एक अर्बको इन्धन खपत भइरहेको छ । पछिल्लो समय सडक सन्जालसँग मध्यपश्चिमका विभिन्न दुर्गम जिल्लाहरू जोडिएसँगै बढेको सवारी साधानले इन्धनको खपत बढ्दैजान थालेको हो ।

विगतमा थोरै ढ्वानी हुने कर्णालीका जुम्ला, कालिकोट लगायतका जिल्लामा पनि केही वर्ष यता धेरै इन्धन जान थालेको निगमले जानकारी दिएको छ । बिशेषगरी बाँके, बर्दिया, दाङ, सुर्खेत, दैलेख जिल्लामा बढी इन्धन ढुवानी हुने गरेको छ । यी जिल्लामा हिमाल तथा पहाडबाट बसाई सराई गरी आउनेको सङ्ख्या बढेसँगै सवारी साधनका प्रयोगकर्ताको पनि उत्तिकै सङ्ख्या बढेको छ ।

यस्तै पछिल्लो समय नेपालगञ्ज, सुर्खेत लगायतका विमानस्थलबाट पनि नियमित र धेरै उडान हुन थालेको कारण पनि इन्धनको खपत बर्से्नि बढिरहेको निगमले जनाएको छ  । बाँकेमा विकास निर्माण र निजी तथा भाडाका सवारी साधन बढेसँगै वार्षिक इन्धन खपतको मात्रा बढेको नेपाल आयल निगम नेपालगन्जले जानकारी दिएको छ ।

बाँके जिल्लामा राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजना लगायत अन्य सानाठूला विकास निर्माणका थुप्रै आयोजनाहरू सञ्चालनमा आएपछि इन्धनको खपत बढ्दै गएको हो । सिक्टा सिचाई आयोजना, कोहलपुर नेपालगन्ज फोर लेन सडक, हुलाकी राजमार्ग जस्ता ठुला आयोजनाका निर्माण कार्यले गति लिएसँगै इन्धनको खपत बढ्दै गएको आयल निगमको यहाँस्थित कार्यालयले जनाएको छ ।