सेनाको हेलिकप्टर मार्फत खोटाङमा निर्वाचन सामग्री आइपुग्यो

सिर्जना बर्देवा/
ओखलढुंगा,कार्तिक,२३-
प्रदेशसभा र प्रतिनिधिसभाको चुनावका लागि खोटाङमा आवश्यक निर्वाचन सामग्री आइपुगेको छ । मंसिर १० गते हुने चुनावका लागि सेनाको हेलिकप्टरमार्फत मतपेटिका, मतपत्र, मतदाता शिक्षा सामग्री, निर्वाचन प्रचार सामगी, स्ट्यामप्याड, मसी, छेकाबारा लगायतका निर्वाचन सामग्री ओसारिएको हो ।

निर्वाचन आयोगले सेनाको एमआई सेभेन्टिन हेलिकप्टरमार्फत दुई पटक लगाएर ६५ प्रकारका सामाग्रीमध्ये जिल्लामा खरिद गर्नुपर्नेबाहेकका सामग्री निर्वाचन पठाएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो ।

आसन्न चुनावमा जिल्लाका १ लाख २५ हजार १८३ मतदाताले सहभागीता जनाउँदैछन् । जिल्लामा १३६ मतदानस्थल र १७९ मतदान केन्द्र निर्धारण गरिएको छ ।

कुल मतदानस्थलमध्ये २८ वटा मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशील मानिएको छ । एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्यका लागि खोटाङमा १९ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।