पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन

आजै अन्त्येष्टी गरिने

 

काठमाडौं,कार्त्तीक,२५-
पूर्व प्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन भएको छ । आज बिहान आफ्नै निवास ज्ञानेश्वरमा बिष्टको ९० वर्षको उमेरमा निधन भएको हो । वि.सं १९८३ माघ २ गते काठमाडौंको ठमेलमा जन्मेका बिष्ट पञ्चायतकालमा तीनपटकसम्म प्रधानमन्त्री बन्नु भएको थियो । 

स्व: पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्ट

बिष्ट लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँ २०२५ चैत २५ देखी २०२६ चैत ३१ सम्म पहिलोपटक प्रधानमन्त्री बन्नु भएको थियो । बिष्ट २०२८ वैशाख १ देखि २०३० साउन १ सम्म दोस्रोपटक र २०३४ वैशाख ३० देखि २०३६ जेठ सम्म तेस्रोपटक प्रधानमन्त्री बन्नु भएको थियो ।

दोस्रोपटक प्रधानमन्त्री रहेको समयमा २०३० असार २५ मा सिंहदरबार आगलागी भएपछि नैतिकताका आधारमा राजीनामा दिएका उहाँलाई सोही कारण नैतिकवान नेताका रुपमा चिनिने गरेको छ ।

पञ्चायतकालका सक्रिय राजनीतिज्ञ बिष्ट २०४६ सालको जनआन्दोलनपछि निष्क्रिय जस्तै हुनुहुन्थ्यो । तर उहाँ पूर्व राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएका बेला मन्त्रिपरिषदको उपाध्यक्ष हुनुहुन्थ्यो । पारिवारिक स्रोतका अनुसार उनको आजनै अन्त्येष्टि गर्ने जनाईएको छ । स्व: बिष्टले कुनै पनी राष्ट्रिय सम्मान नदिनु भनेकाले उनको चाहाना अनुरुप नै सामान्य तरिकाले अन्त्येष्टि गरिने उनका परिवारिक स्रोतले जनाएको छ ।