राष्ट्रियसभा सदस्यमा कांग्रेस उम्मेदवार निर्विरोध चयन

वाम गठबन्धनका उम्मेदवार थापाको उम्मेदवारी खारेज

काठमाडौं,माघ,१४-

राष्ट्रिय सभा सदस्यमा वाम गठबन्धनका रामबहादुर थापाको उम्मेदवारी खारेज भएको छ । एमाले नेता थापाले वाम गठबन्धनको तर्फबाट प्रदेश ४ बाट अपाङ्ग तथा अल्पसंख्यक कोटामा उम्मेदवारी दिनुभएको थियो । 

तर, नयाँ निर्देशिका अनुसार अपाङ्ग परिचय पत्र नलिएको भन्दै कांग्रेस उम्मेदवार बनेका तनहुँका प्रकाश पन्थले निर्वाचन आयोगमा उजुरी दिनुभएको थियो ।

छानविन पश्चात आयोगले शनिबार थापाको उम्मेदवारी खारेज गरेको छ । थापाले २७ असार २०६२ मै अपाङ्गताको परीचयपत्र लिनुभएको थियो । तर, नयाँ निर्देशिका अनुसार नयाँ परिचय पत्र बनाउनु भएको रहेछ ।

उम्मेदवारी दर्ताको दुई दिनपछि मात्र नयाँ परीचयपत्र बनाएको पाइएपछि निर्वाचन आयोगले उहाँको उम्मेदवारी खारेज गरेको छ ।

यससँगै कांग्रेस उम्मेदवार पन्थ राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

प्रदेश ६ बाट अपाङ्ग कोटामा उम्मेदवारी दिएका वाम गठबन्धनका जीवन बुढाविरुद्ध पनि उम्मेदवारी परेको थियो । तर, उहाँको उम्मेदवारी कायम भएको छ ।

प्रदेश ७ बाट दलित कोटामा उम्मेदवारी दिएका कांग्रेसका शेरीराम पार्कीको उम्मेदवारी भने कायमै रहेको छ । उहाँविरुद्ध पनि उजुरी परेको थियो ।