एमाले र माओवादी केन्द्रबीच कुटाकुट, युवा संघका अध्यक्ष गम्भीर घाइते

 

डोल्पा,कार्त्तीक,१९-

डोल्पामा नेकपा एमाले र माओवादी केन्द्रबीच कुटाकुट भएको छ । चुनाव प्रचारमा रहेका एमाले नेताहरुलाई माओवादी केन्द्रका स्थानीय नेता-कार्यकर्ताहरुले चिर्पट प्रहार गर्दा डोल्पा जिल्लाको मुड्केचुला गाँउपालिकाको कालिका गाँउमा युवा संघ गाउँपालिकाका अध्यक्ष रुद्र शाही गम्भीर घाइते भएका छन् ।

शनिबार बेलुका अखिल क्रान्तीकारीका जिल्ला सदस्य टक्क शाहीले युवा संघ गाउँ कमिटिका अध्यक्ष रुद्र शाहीमाथि लुकेर आक्रमण गरेको एमालेले बताएको छ ।

एमाले जिल्ला सदस्य लंक रोकायका अनुसार चुनाव प्रचारको क्रममा कालिका कार्यक्रम सम्पन्न गरेर फर्किने क्रममा शाहीमाथि आक्रमण भएको थियो । उनले माओवादी केन्द्रको योजनामा आक्रमण गरिएको आरोप लगाउनुभयो ।

प्रचार टोली गाउँबाट गइसकेपछि शााहीमाथि आक्रमण भएको एमालेले बताएको छ । चिर्पट प्रहारबाट गम्भीर घाइते शाहीको कालिका फेमिलि अस्पतालमा उपचार भइरहेको छ । घाइते शाहीको अझै अचेत अवस्थामै छन् । थप उपचारको हेलिकोप्टरबाट नेपालगंज ल्याउने तयारी भइरहेको एमाले डोल्पाले जनाएको छ । प्रहरीले टक्क शाहीलाई पक्राउ गरिसकेको छ ।