नेकपाको विवाद मिलाउन आज ओली, प्रचण्ड र नेपालबीच भेटवार्ता हुने

फाईल तस्विर !

काठमाडौं,साउन,१-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानका लागि सहमति प्रयास जारी छ ।

सहमति जुट्न नसकेपछि आज(बिहीबार) प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ ।

अध्यक्षद्वयको पटकपटको एक्लाएक्लै भेटले समस्या समाधानको सूत्र पत्ता लगाउन नसकेपछि आज ओली, प्रचण्ड र नेपालबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट्ने तय भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

बुधबार पनि अध्यक्षद्वय ओली र दाहालबीच भेट भएको थियो। तर, निष्कर्ष ननिस्किएपछि नेता नेपाल सहित भेटवार्ता गर्ने तय भएको थियो ।असार १८ मा प्रधानमन्त्रीले संसद् अधिवशेन अत्य गरेपछि मात्रै चारपटक स्थायी समिति बैठक सारेर पाँचौंपटकको साउन २ का लागि तोकिएको छ ।

पछिल्लोपटक एक साता बैठक स्थगित गरे पनि बैठकअघि सहमति जुटाउने समय बिहीबार एक दिन मात्र बाँकी छ । नेकपाका दुई अध्यक्ष १८ असारयता १३ दिनबीच सातपटक बालुवाटारमा वार्तामा बसे ।

तर वार्तामा दुवै आआफ्ना अडान राख्नेभन्दा खास निश्कर्ष उनीहरूले निकाल्न सकेनन् । बुधबारको छलफलपछि भने दुवै पक्षका नेताको दौडादौड एक्कासी फेरि बाक्लिन थालेको छ ।