नेपाल थ्री नेसन्स कप च्याम्पियन, बंगलादेशमाथि २-१ को जित

रोहित सर्वोत्कृष्ट, सन्जोग म्यान अफ द फाइनल,अन्तर्राष्ट्रिय फुटबलबाट विराजको सन्न्यास

फाईल तस्विर !!

काठमाडौं,चैत,१६-घरेलु टोली नेपाल थ्री नेसन्स कपको च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा चिरपरिचित प्रतिद्धन्द्धी बंगलादेशलाई २–१ ले ले पराजित गर्दै नेपाल थ्री नेसन्स कप च्याम्पियन बनेको हो ।

नेपाललाई च्याम्पियन बनाउन सन्जोक राई र विशाल राईले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । बंगलादेशका महाबुबुर रहमानले एक गोल फर्काए । खेलको १३औं मिनेटमा सुनिल बलको क्रसमा त्रिदेव गुरुङले नियन्त्रणमा लिन नसकेको बललाई बंगलादेशका डिफेन्डरले क्लियर गर्दा नेपाल अग्रता लिनबाट चुक्यो ।

१७औं मिनेटमा सुनिल बलको क्रसमा डिफेन्डर अनन्त तामाङको हेडरलाइं अनिसुर रहमानले बचाए । १८औं मिनेटमा सन्जोक राईले गोल गदै नेपाललाई १–० को अग्रता दिलाए । सुनिल बलको कर्नरमा सन्जोक राईले डि बक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । राष्ट्रिय टोलीबाट सन्जोकले डेब्यु गोल गरेका हुन् । उनी यसै नेसन्स कपमा राष्ट्रिय टोलीमा परेका थिए ।

बंगलादेशविरुद्धको खेलबाट सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका सन्जोकले आफ्नो दोस्रो खेलमै गोल गर्न सफल भएका हुन् । नेपालले आठौं अन्तर्राष्ट्रिय खेलपछि पहिलो गोल गरेका हुन् । १० सेप्टेम्वर २०१९ मा विश्वकप छनोटमा चाइनिज ताइपेइविरुद्धको खेलमा अन्जन विष्टले गोल गरेयता नेपाल पछिल्लो १८ महिनामा गोल गर्न सकेको थिएन ।

३०औं मिनेटमा अन्जन विष्टले गोलरक्षक अनिसुर रहमानलाई बिट गर्दै गरेको चिप प्रहार पोस्ट नजिकैबाट बाहिरिदा नेपाल अग्रता दोब्बर पार्नबाट चुक्यो । ४२औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए । रन्जित धिमालको पासमा सन्जोक राईले छोएको बललाई विशाल राईले वान भर्सेस वानको अवस्थामा उत्कृष्ट फिनिस गरेका थिए ।

दोस्रो हाफमा पनि नेपालले बंगलादेशलाई दवावमा राखेपनि थप गोल गर्न नसक्दा एक गोल बेहो¥यो । ७१औं मिनेटमा विशाल राईको पासमालाई सब्सिच्युट रवि शंकर पासवानले डि बक्समा भेट्न सकेन । ८३औं मिनेटमा सब्सिच्युट महाबुबुर रहमानले कर्नरबाट आएको बललाई हेडर गोल गर्दै खेललाई २–१ ले स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा नेपाल २–१ ले विजयी हुन सफल भयो ।

८९औं मिनेटमा त्रिदेव गुरुङको स्थानमा विराज महर्जन मैदान प्रवेश गर्दै आफ्नो अन्तिम खेल खेले । उनले निर्धारित समयको एक र इन्ज्युरी समयको थप गरिएको अन्तिम ६ मिनेट नेपाली टोलीको कप्तानी गरे ।

विश्वकप छनोटको खेल स्थगित भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्री नेसन्स कपको आयोजना गरेको थियो । लिग चरणमा नेपालले किर्गिस्तानको ओलम्पिक टोली र बंगलादेशसँग गोलरहित बराबरी खेल्दै लिगमा दोस्रो स्थानमा रहेको फाइनलमा स्थान बनाएको थियो । बंगलादेशले लिग चरणमा किर्गिस्तानको ओलम्पिक टोलीलाई १–० ले तथा नेपालसँग गोलरहित बराबरी खेलेको थियो ।

च्याम्पियन बनेसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ । नेपालले सन् १९८४ पछि घरेलु मैदानमा पहिलो उपाधि जितेको हो । त्यतिबेला दक्षिण एसियाली खेलकुद महासंघ (साग) मा बंगलादेशलाई हराएको थियो ।

समग्रमा नेपालको यो पाँचौ उपाधि हो । यसअघि नेपालले सन् १९८४ र १९९३ को सागको पुरुष फुटबल, २०१६ मा मलेसियामा भएको एएफसी सोलिडारिटी कप र २०१६ मै बंगलदेशमा भएको बंगलबन्धु कप जितेको थियो । प्रशिक्षक बालगोपाल महर्जनको कप्तान्ीमा गतवर्ष नेपालले सागको उपाधि जितेको हो ।

रोहित सर्वोत्कृष्ट, सन्जोग म्यान अफ द फाइनल

नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर रोहित चन्द थ्री नेसन्स कप फुटबल प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।नेपाललाई उपाधि जिताउन प्रतियोगिताभर उत्कृष्ट पदर्शन गरेका रोहित थ्री नेसन्स कपको सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । नेपालले सोमबार साँझ भएको थ्री नेसन्स कप फुटबलको फाइनलमा बंगलादेशलाई २–१ गोल अन्तरले हराउँदै उपाधि जितेको थियो ।

अपराजित रहँदै टोलीलाई उपाधि जिताउन रोहितले उच्च प्रदर्शन गरेका थिए । रोहितले सर्वोत्कृष्ट खेलाडी वापत ५ सय अमेरिकी डलर प्राप्त गर्ने छन् । रोहित लिग चरणमा बंगलादेशविरुद्ध म्यान अफ द म्याच चुनिएका थिए ।

त्यस्तै :मिडफिल्डर सन्जोक राई म्यान अफ द फाइनल चुनिएका छन् । नेपाललाई उपाधि जिताउन फाइनलमा सन्जोगले पहिलो हाफमा १८ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता लिएका थिए । सन्जोकको गोल नेपालको थ्री नेसन्स कपको पहिलो समेत रहेको थियो । म्यान अफ द म्याच चुनिएका सन्जोकले २ सय ५० अमेरिकी डलर प्राप्त गरे । सन्जोकको राष्ट्रिय टोलीमा दोस्रो खेल हो । शनिवार लिग चरणमा बंगलादेशविरुद्धकै खेलमा डेब्यू गरेका थिए ।

अन्तर्राष्ट्रिय फुटबलबाट विराजको सन्न्यास

राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । दशरथ रंगशालामा थ्री नेसन्स कपको बंगलादेशविरुद्धको फाइनलपछि विराजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका हुन् ।

उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ब्लेजर लगाएर राष्ट्रिय टोलीबाट स–सम्मान बिदाई गरे । एक वर्षभन्दा लामो समयदेखि टोली बाहिर रहेका विराजले घरेलु मैदानमा विश्वकप छनोटको खेलमार्फत सन्न्यास लिने सोच बनाएका थिए । विश्वकप छनोटको खेल दशरथ रंगशालामा नहुने भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल, बंगलादेशका राष्ट्रिय टोली तथा कीर्गिस्तानको यू–२३ सम्मिलित थ्री नेसन्स कप आयोजना गरेको थियो ।

यहि प्रतियोगितामार्फत विराजले सन्यास लिने योजना बुनेका थिए । ३१ वर्षीय विराजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएपनि घरेलु फुटबलमा भने निरन्तर खेल्ने बताएका छन् । उनले फाइनलमा बंगलादेशविरुद्ध ८९औं मिनेटमा त्रिदेव गुरुङको स्थानमा मैदान प्रवेश गर्दे आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेले । उनले निर्धारित समयको १ मिनेट र इन्ज्युरी समयको थप गरिएको अन्तिम ६ मिनेट नेपाली टोलीको कप्तानी गरे । खेल सकिएपछि उनलाई टिको सहयात्रीले काधमा बोक्दै मैदान परिक्रमा गराएका थिए ।

‘दशरथ रंगशालामा घरेलु समर्थकमाँझबाट सन्न्यास लिने योजना बनाएको थियो । त्यो पुरा भएको छ । एन्फा, प्रशिक्षण टोली र टिम परिवारप्रति विशेष आभारी छु ।’ सन्न्यासको घोषणापछि विराजले भने, ‘सन्न्यास लिने यो उपयुक्त समय हो । अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएपनि घरेलु फुटबलमा निरन्तर रहनेछु ।’

विराज नेपालका सफल कप्तान मध्ये पर्दछन् । सन् २००८ मा पोखरामा पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेलमार्फत विराजले राष्ट्रिय टोली डेब्यू गरेका थिए । दशक भन्दा लामो समय खेल्दै कीर्तिमानी क्याप जितेका विराजको कप्तानीमा नेपालले २०७२ मा बंगबन्धु गोल्डकप, सोही वर्ष १२औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेको थियो ।

त्यस्तै २०७३ मा नेपालले एएफसी सोलिडारिटी कप जित्दा विराज मैदानका कप्तान थिए । तीन अलग अलग क्लब थ्री स्टार क्लब, मनाङ मस्र्याङ्दी क्लब र गत वर्ष मछिन्द्र क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग जितेका झन्डै १२ वर्ष निरन्तर राष्ट्रिय टोलीबाट खेलेका विराज एन्फा एकेडेमीका तेस्रो ब्याचका उत्पादन हुन् ।

सबै उमेर समूहबाट खेलेका विराजले नेपालका सर्वाधिक ७३ क्याप जितेका छन् । उनले आफ्नै प्रशिक्षक समेत रहेका पूर्व कप्तान राजु शाक्यको नाममा रहेको ६८ अन्तर्राष्ट्रिय खेलको कीर्तिमानी तोडेका थिए । विराज नेपाली फुटबलका सफल रक्षक मध्येका एक मानिन्छन् । नेपाली फुटबलले उनलाई सफल कप्तान र अनुशासित खेलाडीका रुपमा पक्कै सम्झने नै छ ।