एक्लाएक्लै एकता वार्ता-ओलीको आँखा प्रधामन्त्रीमा, दाहालको अध्यक्षमा

काठमाडौं,माघ,१४-

पार्टी एकताको ‘निर्णायक’ छलफलमा रहेका एमाले–माओवादी केन्द्र दुवै पार्टीका अध्यक्ष आ–आफ्नै रणनीतिमा देखिएका छन् ।

शुक्रबार बेलुका दुई अध्यक्षबीच भएको ‘गोप्य वार्ता’ पनि एक–अर्कालाई मनाउने रणनीतिका कारण निष्कर्षमा पुग्न सकेन। सरकार पहिले कि पार्टी एकता र दुई पार्टी अध्यक्षको पदीय व्यवस्थापनसम्बन्धमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल टुंगोमा नपुगेपछि शुक्रबारको बैठक पनि निष्कर्षविहीन भएको माओवादी उच्च स्रोतले बतायो।

ओली–दाहाल शुक्रबार सुवास नेम्बाङ र रामबहादुर थापासँग बालकोटमा सामूहिक छलफल गरेपछि त्यहाँबाट बाहिरिएर ‘गोप्य वार्ता’ मा बसेका थिए। भक्तपुरस्थित एक व्यापारीको घरमा ओली९दाहालबीच अढाई घन्टा छलफल भएको थियो। ओलीको चाहना पार्टी एकताभन्दा पहिले सरकार गठनमा छ।

सरकार गठन प्रक्रियालाई पहिले सकेर आफू प्रधानमन्त्री हुने र त्यसपछि मात्रै एकता प्रक्रियालाई अगाडि बढाउने योजनामा उनी देखिन्छन्। यसैकारण उनले पार्टी एकता र सरकार गठन प्रक्रियालाई पृथक् विषय बनाई अलगअलग ढंगले अगाडि बढाउनुपर्ने सार्वजनिक अभिव्यक्ति नै दिन थालेका छन्।
आजको अन्नपूर्णमा खबर छ ।