कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुग्यो, १,०४१ जना संक्रमित थपिए

काठमाडौं,भदौ,२०-नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २८० पुगेकोे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित प्रेस ब्रिफिङमा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप नौजनाको मृत्यु भएको जानकारी दिनुभयो ।सोसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुगेको हो ।

थप एक हजार ४१ जनामा संक्रमण
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४०८ सहित नेपालमा थप एक हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा अहिलेसम्म जम्मा कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको प्रवक्ता डा. गौतमले बताउनुभयो ।नेपालमा हाल १७ हजार ८७० सक्रिय संक्रमित रहेका छन् ।

एक हजार ५६६ जना ‘डिस्चार्ज’
पछिल्लो २४ घन्टामा थप एक हजार ५६६ जना कोरोना संक्रमित ‘डिस्चार्ज’ भएका छन् ।

यो सँगै शनिबारसम्म कोरोना निको हुनेको जम्मा संख्या २७ हजार १२७ पुगेको मन्त्रालयले जानकारी गराएको छ ।

२४ जना भेन्टिलेटरमा
उपचाररत् संक्रमितमध्ये १६७ जना आइसीयूमा रहेका छन् भने २४ जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।

पछिल्लो २४ घन्टामा १२ हजार ४७३ जनाको ‘पीसीआर’ परीक्षण भएको छ । अहिलेसम्म देशभर सात लाख ५७ हजार ९६३ ओटा पीसीआर परीक्षण भएको छ ।

अहिले नेपालमा संस्थागत र ‘होम आइसोलेसन’मा गरी १७ हजार ८७० जना आइसोलेसनमा रहेका छन् ।अहिले ताप्लेजुङ, सोलुखुम्बु, मुस्ताङ, मुगु, हुम्ला र डोल्पामा सक्रिय संक्रमितको संख्या शून्य रहेको जनाइएको छ ।