संसदमा ओलीविरुद्ध मतदान गर्ने कांग्रेसको निर्णय

काठमाडौं,बैशाख,२१-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदमा मतदान गर्ने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवासमा आज बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीहरूको बैठकमा २७ गते ओलीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सह-महामन्त्री डाक्टर प्रकाशशरण महतले ओलीको कदम षड्यन्त्रपूर्ण रहेकाले त्यसलाई असफल पार्ने निर्णय भएको र विश्वासको मत लिनबाट रोक्न अन्य दलहरूसँग पनि अनुरोध गरिने जानकारी दिनुभयो ।

यस्तै, बैठकले संवैधानिक परिषद् लगायतका सातवटा अध्यादेश ल्याउने सरकारको कामको समेत घोर भर्त्सना गरेको छ । संसद छलेर देश अध्यादेशको माध्यमबाट अघि बढाउन खोजेको कांग्रेसको आरोप छ ।

सह-महामन्त्री महतका अनुसार मंगलबारको बैठकमा कोभिडकाबीच भदौमा गर्ने तयारी भएको पार्टीको १४ औं महाधिवेशनको विषयमा समेत छलफल भएको छ ।