नेपालमा कोरोनाबाट एकैदिन ५५ जनाको मृत्यु,७ हजार ६६० जना संक्रमित

काठमाडौं,बैशाख,२१-कोरोनाबाट एकैदिन अहिलेसम्मकै धेरै ५५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको हो ।

यसअघि एकदिनमा सबैभन्दा धेरै ३७ जनाको मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय १७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ७ हजार ६६० जना संक्रमित भएका छन् । यो पनि अहिलेसम्मकै उच्च संक्रमितको संख्या हो ।

१६ हजार १३१ जनामा गरिएको पीसीआर परीक्षणमा ७ हजार ५८७ र ५ सय ७१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै देशैभरी संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा २ हजार ७७९, भक्तपुरमा ५ सय १३ र ललितपुरको ६ सय १ गरी काठमाडौं उपत्यकामा मात्रै ३ हजार ८९३ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ७७५ जना संक्रमणमुक्त हुँदा कोरोनाबाट निको हुनेको संख्या २ लाख ८७ हजार ७९० पुगेको छ । देशभर ५९ हजार ७९८ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ६ सय १६ जना आईसीयू र १ सय ७९ जना भेन्टिलेटरमा छन् ।