आज सहिद दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं,माघ,१६-देश र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी सहिद दिवस मनाइँदैछ ।

प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहको अन्तिम दिन विशेष रुपमा सहिद दिवस मनाउने गरिन्छ।सहिद शुक्रराज शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकुस्थित पचलीमा मृत्युदण्ड दिइएको थियो ।

सहिद धर्मभक्त माथेमालाई सिफलमा माघ १३ गते र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मारिएको थियो । राणाशासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट एवम् शिक्षित गरेको आरोपमा विसं १९९७ मा उहाँहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए ।

माघ १६ गते सहिद दिवसका दिन विभिन्न कार्यक्रमको आयोजना गरी मुलुक र जनताका लागि भएका अधिकारका आन्दोलनमा आफूलाई समर्पित गर्ने सम्पूर्ण सहिदको सम्झना गरिन्छ ।

मुलुकमा चलेको १० वर्षे सशस्त्र द्वन्द्व, २०६२÷६३ सालको जनआन्दोलन, मधेस आन्दोलन र अन्य विभिन्न पहिचानका आन्दोलनपछि सहादत प्राप्त गर्ने व्यक्तिलाई सहिद घोषणा गरिएको छ ।

तर सरकारसँग हालसम्म मुलुकमा कति व्यक्ति सहिद भए भन्ने आधिकारिक तथ्याङ्क छैन । नेपालका पहिलो सहिद लखन थापालाई मानिन्छ । सहिद दिवसमा पहिले सार्वजनिक बिदा दिने गरिए पनि हाल सरकारले यो बिदा कटौती गरेको छ ।