छठको तेस्रो दिन आज ब्रतालुहरु ‘खरना’ विधिको तयारी

काठमाडौं,कार्तिक,२३-छठको तेस्रो दिन आज ब्रतालुहरु ‘खरना’ विधिको तयारीमा छन्।पर्वको पहिलो दिन ‘अरबा–अरबाइन’ र हिजो दोस्रो दिन ‘नहाय–खाय’ सम्पन्न गरेका ब्रतालुहरु आज पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् ।

आज बिहान स्नान गरी दिनभरि निराहार उपवास बसेर राति सख्खरमा पकाइएको खिर कूलदेवता र छठीदेवीलाई चढाई त्यही खिर खाने चलन छ ।

 

‘खरना’ का दिन दिनभर उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर राखेर खीर पकाउने र त्यसलाई केराको पातमा राखेर छठी मातालाई चढाएर मात्र ब्रतालु र परिवारका अन्य सदस्यले प्रसादका रूपमा खाने गर्छन् ।

पर्वको चौथो दिन भोलि बुधबार अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेका बर्तालुले जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिनेछन् । यसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिन्छ । यसैगरी पर्सी सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुने गर्दछ ।