अनसनमा बसेका डा. गोविन्द केसी पक्राउ

मंगलबार विहान ९ बजे अदालत उपस्थित गराउन आदेश

काठमाडौं,पुस,२४- 

आमरण अनसनमा रहेका डा. गोविन्द केसीलाई आज सर्वोच्च अदालतको आदेशमा प्रहरीले पक्राउ गरेको छ । अदालतको मानहानी मुद्दामा सर्वोच्चले डा. केसीलाई पक्राउ गरी भोलि मंगलबार विहान ९ बजे उपस्थित गराउन आदेश दिएको थियो ।

अदालतको आदेश आएको तीन घन्टापछि प्रहरीले केसीलाई अनसन स्थलबाटै उठाएको हो ।डा. केसीलाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरका एसपी रामदत्त जोशी नेतृत्वको टोली पुगेको थियो । सर्वोच्च अदालतले सोमबार दिउँसाे अनशनरत डाक्टर गोविन्द केसीलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरीलाई आदेश दिएको थियो ।

सर्वोच्च अदालतले चिकित्सा शिक्षा अध्ययन संस्थान आइओएमको डिनमा डाक्टर शशी शर्मालाई पुनर्वहाली गर्न आदेश दिएपछि डाक्टर केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजिनामा र पराजुलीले गरेका फैसलाको छानविनको माग गर्दै अनसन सुरु गर्नुभएको छ । अहिलेको न्यायालय न्याय दिने नभई न्यायको किनवेच गर्ने विचौलियाको केन्द्र भएको आरोप डाक्टर केसीको छ ।

केसीले अब न्यायालयलाई आदर्शको केन्द्र बनाउनुपर्ने बताउनुभएको छ । डाक्टर केसीले प्रधानन्याधीसमा पराजुली नियुक्त भए यताका केही फैसलाको विवरण सार्वजनिक गर्दै त्यसको छानविन गर्न माग गर्नुभएको थियो ।