रेडियो प्रेमी गिरी पुनः चर्चामा

बाँके,भदौ,१६-

रेडियो प्रेमी : श्याम गिरी

रेडियो प्रेमी श्याम गिरीलाई नचिन्ने कमै होलान, रेडियोको माध्यमबाट उनले मित लगाएपछि नचिनेकाले पनि उनलाई चिन्न थाले । रेडियो कार्यक्रमबाट नै मित लगाएर उनले २०७६ बैशाख २१ गते लगाएको मित–मितिनी’को नातालाई बिधिवत रुपमा टिका टालो गरी बलियो बनाएपछि उनको चर्चा सर्वत्र हुन थाल्यो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ सूर्जी गाउँका ४९ वर्षका गिरी र राप्तीसोनारी गाउँपालिका वडा–५ बिनौनाकी ३० वर्षीया श्यामकुमारी चौधरीसंग विधिपूर्वक उनले मितेरी लगाएका हुन् । यो खबर नेपालभरी नै फैलिएपछि अर्को खुशीपनि उनीमाझ आइपुगेको छ ।

त्यो हो छोटो समयमा उनको सामाजिक संजाल फेसबुक पेजमा साथीहरु भरिएका छन् । उनी छोटो समयमा आफ्ना साथीहरुको संख्या बढेको भन्दै खुशी भएका छन् । एक महिनाको छोटो अवधीमा उनको फेसबुक एकाउन्ट साथीले भरिएको छ । अब उनले फेसबुकबाट नभएर साथीहरुसंग फ्यान पेजबाट कुराकानी र साथीहरुसंग सम्पर्क गर्नुपर्ने भएको छ ।

अर्थात गिरीको फेसबुक एकाउन्टमा २९ दिनमा पाँच हजार साथी भइसकेका छन् । गत साउन २०७६ साउन १६ गते फेसबुक एकाउन्ट खोलेका गिरीको २०७६ भदौ १४ गते राति १० बजेसम्ममा २९ दिनभित्र साथीहरुको अनुरोध स्वीकार हुन सकेको छ्रैन । हुन त उनले पहिलो फेसबुक एकाउन्ट खोलेको यो पहिलो पटक भने होइन । उनले ६ वर्ष अघि २०७० सालमा समेत फेसबुक एकाउन्ट खोलेका थिए तर एक वर्षमै सो एकाउन्ट बिग्रिएको थियो ।

स्थानीय एफएममा रेडियोबाट बज्ने सांगीतिक कार्यक्रममार्फत् चिनजान भएपछि गिरी र चौधरी लामो समयदेखि ‘मित–मितिनी’को नाता लगाउँदै पारिवारीक रूपमा जोडिएका थिए । एफएम रेडियोमा बज्ने जुनसुकै कार्यक्रमको नियमित स्रोता उनी आम स्रोताका माझ श्याम गिरी ‘रेडियो प्रेमी वान’ नामबाट परिचित पनि छन् । श्यामकुमारी पनि रेडियो कार्यक्रममा बजिरहने नाम हो ।

२०६६ सालमा रेडियो कार्यक्रममार्फत् चिनजान भएपछि दुवैले ‘मित’ र ‘मितिनी’ भनेर सम्बोधन गर्न थालेका थिए । यही चर्चाले अहिले उनको सामाजिक संजालपनि भरिएको छ । नेपाल आयल निगमको नेपालगञ्ज डिपोमा हल्का सवारी चालकको रूपमा २० वर्षदेखि कार्यरत गिरीले आफ्नो फेसबुक एकाउन्टमा साथी भन्नुभएका सम्पूर्णलाई धन्यवाद दिँदै भावी दिनमा पनि साथित्वको भावना कायम रहिरहन कामना गर्नुभएको छ ।

गिरीले हालसम्म नेपालका सुपरस्टार भुवन केसी, हास्यकलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली), चर्चित गायक कोमल वली, नेपाल आयल निगमका पुर्व निर्देशक तथा गायक सिताराम पोखरेल, मन्जु पौडल लगायत कलाकारलाई भेटिसकेका छन् । फेसबुक एकाउन्टमा पत्रकार, डाक्टर, माननीय र कलाकार उनका साथी छन् ।