सरकार झुट र भ्रमको खेतीमा लाग्यो : पौडेल

तनहुँ, चैत २१-

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनको वर्तमान सरकार झुट र भ्रमको खेतीमा लागेको आरोप लगाउनु भएको छ ।

आज तनहुँको दमौलीमा सन्चारकर्मीसँगको भेटमा उनले वर्तमान सरकार आर्थिक समृद्धि र विकासमाभन्दा पनि झुट र भ्रमको खेतीतर्फ उन्मुख भएको आरोप लगाउनुभयो ।

सरकार काम गर्नेभन्दा पनि लोकप्रियता कमाउनेतर्फ बढी मात्रामा लागेको उहाले बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण केबल भारतीय समकक्षी नरेन्द्र मोदीसँग बिग्रेको सम्बन्ध सुधार्नेबाहेक आफूले अरु कुनै उपलब्धि नदेखेको नेता पौडेलले बताउनुभयो ।

उनले भ्रमणलाई लिएर धेरै लोकप्रियता कमाउनेतर्फ लाग्नुभन्दा पनि देशको आर्थिक समृद्धि र विकासलाई अगाडि बढाउन प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभयो ।

‘कांग्रेस अब कसरी अगाडि बढ्ला ?’ भन्ने सन्चारकर्मीको जिज्ञासामा नेता पौडेलले १४औं महाधिवेशनपछि कांग्रेस फेरि जुझारु र सक्रिय हुने दाबी गर्नुभयो ।

कांग्रेसलाई एक ढिक्का बनाएर अगाडि बढ्न आवश्यक रहेको उहाँको भनाइ थियो । रासस