खोटाङमा १३ प्रतिशतले धान उत्पादन बढ्यो

सिर्जना बर्देवा/
ओखलढुंगा पौष २-
यो बर्ष खोटाङमा १३ प्रतिशतले धान उत्पादन बढेको छ । १५ हजार २ सय २ हेक्टरमा धान खेति लगाइएकोमा अघिल्लो बर्षको तुलनामा बृद्घि भई यो बर्ष ३३ हजार ४ सय ४५ मेट्रिक टन धान उत्पादन भएको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ ।

अघिल्लो वर्ष १४ हजार ८ सय ९८ हेक्टरमा २८ हजार ५ सय ६४ मेट्रिक टन धान उत्पादन भएको तथ्याङ्क छ । यो बर्ष अनुकूल मौसमका साथै रोग तथा किराको प्रकोप कम हुँदा जिल्लामा ४ हजार ८ सय ८० मेट्रिक टन धान बढेको छ ।

अटेमार्से, भोटाङ्गे, लोकल बासमती, मकवानपुरे–१, राधा–१२, मन्सुली, सुख्खा, सावित्री, खुमलटार जातका धानको बीउ खोटाङमा लगाउने गरिएको छ । जिल्लामा कुल ७५ हजार ५ सय ८५ हेक्टर कृषियोग्य जमिन रहेकामा १५ हजार २ सय २ हेक्टरमा धान खेती गरिएको जिल्ला कृषि विकास कार्यालयको तथ्याङमा उल्लेख छ ।