खोटाङमा सामीद्वारा आफ्नै कामको अनुगमन

सिर्जना बर्देवा/
ओखलढुंगा पौष २-
विभिन्न जिल्लामा सप्ताहव्यापी कार्यक्रम गरेर आप्रवासन दिवस मनाइरहँदा खोटाङमा भने दिवसको अवसरमा सुरक्षित आप्रवासन परियोजनाले गरेका कार्यक्रमको अनुगमन गरिएको छ । परियोजना अन्तर्गत बालसेवा समाज नेपाल नेर्पा खोटाङ र नवकिरण सेवा समाज दुर्छिमले सञ्चालन गरेका वित्तीय साक्षरता कक्षा र मनोसामाजिक परामर्श कार्यक्रमको अनुगमन गरिएको हो ।

बालसेवा समाजले रुपाकोट मझुवागढी नगरपालिकाको वडा नम्बर १ र ५ मा वित्तीय साक्षरता कक्षा चलाएको भने नवकिरण सेवा समाज दुर्छिमले वडा नम्बर १ मा मनोसामाजिक परामर्शका कक्षा चलाएको छ । दिवसको अवसरमा यिनै कार्यक्रमको अनुगमन गरिएको हो ।

दिवसकै अवसरमा जिल्लामा वैदेशिक रोजगारीका शिलशिलामा ज्यान गुमाएका कामदारको सम्झनामा दिप प्रज्वलन, वैदेशिक रोजगारको कारणले समस्या परेका परिवारलाई उद्यम विकासका लागि सहजीकरण तथा आर्थिक सहयोग गर्ने र अन्तरक्रिया कार्यक्रम पनि गरिँदैछ । यस्तै जनचेतना मुलक गन्धर्व गीत पनि प्रस्तुत गरिने सुरक्षित आप्रवासन परियोजना (सामी) खोटाङले जनाएको छ ।