संविधान संशोधन नेपालको आन्तरिक विषय हाेः प्रचण्ड

सुर्खेत,भदौ,९-

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले अब हार्ने ठाउँ नभएको बताउनुभएको छ ।संगठन परिचालनमा कमजोरी र नेता गाउँ नपुग्दा हालैको स्थानीय तह निर्वाचनमा हारिएको उहाँले मूल्याँकन थियो ।

पार्टीको प्रदेश नं ६ को प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आइपुग्नुभएका अध्यक्ष प्रचण्डले पत्रकारसँगको भेटमा माओवादी केन्द्रले हार्नुपर्ने जति हारिसकेको तर, अब नहार्ने दाबी गर्नुभयो ।

पूर्वप्रधानमन्त्री प्रचण्डले माओवादी एकता र ध्रुवीकरणको प्रक्रियामा रहेकाे बताउनु भयाे । उहाँले अब माओवादीले जित्दै जाने बताउनु भयाे । उहाँले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिले मात्र देशमा राजनीतिक स्थिरता दिनसक्ने दाबी गर्नुभयो ।

संविधान संशोधन विधेयक निर्णयार्थ पेश भइसकेकाले तत्काल संविधान संशोधनको प्रस्ताव नलगिने अध्यक्ष प्रचण्डको भनाइ थियो ।भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको चुनावपछि संविधान संशोधनको प्रस्ताव लगिने भन्ने भनाइप्रति इङ्गित गर्दै अध्यक्ष प्रचण्डले भर्खरै संविधान संशोधन विधेयक संसद्बाट अस्वीकृत भएकोले अब तत्काल संविधान संशोधन नहुने बताउनु भयाे ।

संविधान संशोधन नेपालको आन्तरिक विषय भएकाेले यसबारे अरु कसैसँग कुरा गर्न आवश्यक नरहेकाे स्पष्ट पार्नु भयाे ।परिवर्तनलाई स्वीकार गर्न नसक्नेहरु प्रदेश र केन्द्रको चुनाव हुन नदिन लागिपरेको समेत उहाँले बताउनुभयो । प्रदेश नं ६ माओवादीको किल्ला भएको उहाँको दाबी छ । नेपालवाणीवाट