नेपाल बंगलादेशलाई हराउँदै फाईनलमा,उपाधिका लागि भारतसंग भिड्ने

काठमाडौं, भदौ ९-

नेपाल काठमाडौं उपत्यकामा जारी १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ ।आज ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको सेमिफाइनलमा नेपालले बंगलादेशलाई ४–२ ले हराएको हो ।

मध्यान्तरअघि २ गोल गरेको नेपालका लागि दुवै गोल आकाश बुढामगरले दिलाएका थिए ।मध्यान्तरपछि बंगलादेशले आत्मघाती गोल गरेपछि ३–० को स्थितिमा पुगेको नेपालले त्यसपछि भने २ मिनेटको अन्तरमा २ गोल खाएको थियो । दुवै गोल फोएसलले गरेका हुन् ।

तर, सौगात खवासल अन्तिम इन्जुरी समयमा गोल गर्दै नेपाललाई ४–२ ले जिताए ।नेपालले अब उपाधिका लागि आइतबार भारतसँग खेल्नेछ । आजै भएको अर्को सेमिफाइनलमा भारतले भुटानलाई २–० ले हराएको हो ।

सशस्त्र प्रहरीको हलचोक मैदानमा भएको खेलमा भारतले मध्यान्तरअघि एक तथा मध्यान्तरपछि एक गोल गरेको थियो ।६ टोली सहभागी प्रतियोगितामा समूह ‘ए’बाट बंगलादेश र भुटानले सेमिफाइनलमा स्थान बनाउँदा श्रीलंका समूह चरणबाटै बाहिरिएको थियो ।

यस्तै, समूह ‘बी’बाट भारत र नेपालले अन्तिम चारमा स्थान बनाउँदा दुवै खेलमा फराकिलो हार भोगेको माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको हो ।