भारतमा २४ घण्टामा साढे ३ लाख कोरोना-संक्रमित थपिए

पछिल्लो ३ दिनमा मात्र ७५ सय जनाको मृत्यु

फाईल तस्विर !!

काठमाडौं,बैशाख,१२-भारतमा पछिल्लो २४ घण्टामा झन्डै साढे ३ लाख कोरोना-संक्रमित थपिएका छन्।भारतमा लगातार चौथो दिन ३ लाखभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको हो। यस्तो आजसम्म विश्वका कुनै देशमा भएको थिएन।

भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घण्टाभित्र भारतमा ३ लाख ४९ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै यस अवधिमा २ हजार ७ सय ६० संक्रमितको मृत्यु भएको छ।

पछिल्लो ३ दिनमा मात्र भारतमा कोरोना संक्रमणका कारण ७ हजार ५ सय जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

पछिल्लो २४ घण्टामा थपिएकासमेत भारतमा कोरोनाको संक्रमणमा पर्ने व्यक्तिको कूल संख्या १ करोड ६६ लाख १० हजार ४८१ पुगेको छ भने सोही कारण मृत्यु भएकाको संख्या १ लाख ९२ हजार १ सय ९९ पुगेको छ।

भारतमा नयाँ भेरिएन्टसँगै कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको छ। जसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परिरहेको छ।