नेकपा विभाजनबारे बुझ्न आज नेपाल आउँदै चिनियाँ कम्युनिस्ट पार्टीको उच्च प्रतिनिधिमण्डल

फाईल तस्विर !!

काठमाडौं,पुस,१२-संसद् विघटनपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रूपमै विभाजन भएपछि चिन्तामा परेको चिनियाँ कम्युनिस्ट पार्टीले आज (आइतबार) आफ्नो अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वमा एक उच्च प्रतिनिधिमण्डल नेपाल पठाउँदै छ।

स्रोतका अनुसार आज काठमाडौं आइपुग्ने चिनियाँ कम्युनिस्ट पार्टीका टोलीले नेपालमा ४ दिनसम्म रहेर खासगरी नेकपा विभाजनका कारण खोतल्ने प्रयास गर्नेछ।

नेकपाको करिब दुईतिहाइ बहुमतको सरकार बनेपछि आर्थिक साझेदारी र ठूला लगानीका परियोजना अगाडि बढाउने चरणमा रहेको चीन अचानक प्रतिनिधिसभा विघटन भएर पार्टी नै विभाजित बनेपछि अप्ठेरोमा परेको छ।

तीन वर्षअघि तत्कालीन एमाले र माओवादी केन्द्र एक भएर बनेको नेकपा यसरी विभाजनसम्मै पुग्ला भन्ने उसले सोचेको थिएन।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीउपमन्त्री गुओ नेतृत्वको प्रतिनिधिमण्डलले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेकपा नेताहरूसँग भेटवार्ता गर्ने तय भएको छ।

‘चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीको नेतृत्वमा आउने टोलीले अध्यक्ष नेपालसँग भेट्न समय लिएको छ,’  नेकपाका अध्यक्ष माधवकुमार नेपालनिकट एक नेताका अनुसार ‘चिनियाँ नेताहरूको नेपाल भ्रमण चार दिनको रहेको बुझिएको छ।’