नेपाल र भारत आज भिड्दै,खेल अपरान्ह ५:३० बजे सुरु हुने

खेल हेर्ने जाने दर्शकले कोभिडको खोप लगाएको अर्थात रिपोर्ट नेगेटिभ हुनु पर्ने

नेपालले भारतसँग मैत्रीपूर्ण फुटबल खेल्दै, रंगशालामा बेलुकी साँढे ५ बजे खेल सुरु हुनेकाठमाडौं,भदौ,१७-नेपालले आज भारत संग मैत्रीपूर्ण फुटबल खेल्दैछ । यो खेल साँझ साँढे ५ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ ।

एन्फाले यो खेलमा रंगशालको झण्डै एक तिहाई क्षमता अर्थात ५ हजार १ सय दर्शकलाई रंगशालामै उपस्थित भएर खेल हेर्न दिने भएको छ ।

तर, खेल हेर्ने दर्शकले कोभिडको पूर्ण खोप लगाएको वा कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको देखाउनु पर्नेछ।नेपालले भारतसँग दुईवटा मैत्रिपूर्ण खेल खेल खेल्न लागेको हो ।

दोस्रो खेल आगामि आइतवार हुनेछ।असोजमा माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् ।

बलियो टिम भारतविरुद्ध मैदान उत्रदा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ। मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्ध जित्नकै लागि खेल्ने बताएका छन्।

‘भारत धेरै बलियो छ । इतिहास राम्रो छ । दुबै खेल जित्न आवश्यक छ। राष्ट्रिय टिमले खुसी बनाउने हैन गर्व गर्न लायक बनाउन आवश्यक छ,’ बुधबार आयोजित प्रि-म्याच कन्फरेन्समा अलमुताइरीले भन्नुभयो, ‘हामी बराबरीको लागि खेल्ने छैनौँ । हामी जित्नका लागि खेल्छौं ।’

फिफा वरीयतामा भारत नेपाल भन्दा माथि रहेको छ। पछिलो वरीयतामा भारत १ सय ५ औं स्थानमा रहेको छ । नेपाल १ सय ६८ औं स्थानमा रहेको छ।

यस्तै भारतविरुद्धको हेड टु हेडमा समेत नेपाल निकै पछि रहेको छ । नेपालले हालसम्म भारतसँग १९ खेल खेलेको छ। जसमा भारतले १३ खेल जितेको छ।नेपालले दुई खेल जित्दा ४ खेल बराबरीमा सकिएको छ।

तर,  प्रशिक्षक अलमुताइरीले भारतविरुद्ध भविष्य हेरेर प्रतिस्पर्धा गर्ने समेत बताउनुभयो ।’ईतिहास हैन, भविष्यलाई हेरेर खेल्नेछौँ। ईतिहास र वरीयताले असर गर्ने छैन । उनीहरु बलिया छन् तर हामी सच्चा गोर्खाली हौँ,’ उहाँले भन्नुभयो ।

नेपालले पछिल्लो पटक भारतसँग २०१७ को जुन ६ मा मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा भारत २-० ले विजयी भएको थियो।

नेपालले पछिल्लो पटक २०१३ को साफ च्याम्पियनसिपमा भारतलाई हराएको थियो। अनिल गुरुङ र जुमानु राईले गोल गरेपछि दशरथ रंगशालामा नेपालले भारतलाई २-१ ले हराएको थियो।

नेपाली टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले भारतविरुद्धको दुबै खेल कठिन हुने बताउनुभयो।

‘भारतसँग खेल कठिन हुनेछ । किनकि भारतसँगको खेल मैले जति खेले कहिले जितेको छैन।घरेलु मैदानमा खेल्न गईरहेका छौँ तर पक्कै पनि खेल कठिन हुनेछ,’ किरणले भन्नुभयो ।  

यस्तै भारतका कप्तान सुनिल क्षेत्रीले नेपालसँगको खेल सधै कठिन हुने बताउनुभयो ।’हाम्रो लागि खेल सधै कठिन हुन्छ । हामी उत्कृष्ट दिने छौँ । हामीलाई निमन्त्रणा गर्नु भएकोमा धेरै धन्यवाद,’ उहाँले भन्नुभयो !

भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले नेपालविरुद्धको खेल सहज नहुने तर खेलका लागि टिम तयार रहेको बताउनुभयो ।