आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाएर मनाइदै

टीकाको उत्तम साइत ११:५३ बजे,आशीर्वाद दिने मुख्य मन्त्र सहित

काठमाडौं,असोज,१६-नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन।

मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र जमरा लगाइँदै छ।रातो टीकालाई शुभ साइतको प्रतीक र जमरालाई समृद्धिको प्रतीक मानिन्छ।दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ।

टीका लगाउने उत्तम साइत नेपाली समय अनुसार बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने समितिले जनाएको छ।त्यसपछि घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।

आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ।

आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म पनि मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन्।आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ।

पौराणिक मान्यता अनुसार त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको विश्वास छ।यसैले आजको दिनलाई विजयको प्रतीकका रुपमा पनि लिइन्छ।

धर्मशास्त्रविद् सुर्यप्रसाद ढुंगेलले टीका जमरा लगाइदिनेले थुप्रै मध्येका मन्त्र वाचन गर्दै आशीर्वाद दिन सक्ने बताउनुभयो।उहाँका अनुसार विजयादशमीमा टीका लगाइदिँदा आशीर्वाद दिने मुख्य मन्त्र यस्तो रहेको छ।

आशीर्वाद दिने मुख्य मन्त्र : 

आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

हो।यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ।धर्मशास्त्रविद् ढुंगेलका अनुसार महिलालाई टीका लगाउँदा भने दुर्गा देवीको स्वरुप मानेर 
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।
भन्ने मन्त्र वाचन गरिन्छ । 

बडा दशैंको यो शुभ अवसरमा हामी हाम्रो समस्त पाठक वर्ग लगायत सारा संसारभरी यत्र तत्र छरिएर बस्नु भएका आम नेपालीजन आमाबुवा,दाजुभाई तथा दिदि बहिनी लगायत ईष्टमित्र आफन्तजनमा सुख,शान्ती समवृद्धी तथा सु-स्वास्थ्य एवंम दिर्घायूको कामना गर्दै दशैंको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।