विश्वकप छनोट : चाइनिज ताइपेविरुद्ध नेपालको सानदार जित

कुवेत,जेठ,२०-फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले दोस्रो जित निकालेको छ ।

कुवेतमा बिहीबार भएको खेलमा चाईनिज ताईपेलाई २-० गोल अन्तरले पराजित गर्दै नेपालले छनोटमा दोस्रो जित निकालेको हो ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपाललाई जित दिलाउन अन्जन विष्ट र नवयुग श्रेष्ठले एक एक गोल गरे ।

खेलको चौंथो मिनेटमा अन्जनले पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

सन्तोष तामाङको फ्रिकिकमा ताईपेका चेङ्ग हाओले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । जसमा अन्जनले सहजै गोल गरे ।

यससँगै अन्जनले ताईपेविरुद्ध लगातार दोस्रो खेलमा गोल गर्न सफल भएका छन् । यस अघि ताईपेको घरेलु मैदानमा नेपालले २-० को जित निकाल्दा अन्जनले दुई गोल गरेका थिए ।

May be an image of 3 people

त्यसपछि खेलको ८१ औं मिनेटमा परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका नवयुगले गोल गर्दै नेपाललाई २-० गोलको जित दिलाए । 

नवयुग सुनिल बलको स्थानमा खेलको ६९ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

जितसँगै छनोटको समूह ‘बी’ मा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको चौंथो स्थानमा रहेको छ ।

चाईनिज ताईपेको यो छैटौं हार हो । अंक विहीन ताईपे तालिकाको पुछारमा रहेको छ ।

अब नेपालले जेठ २४ मा जोर्डन र २८ मा एसियाली पावर हाउस अष्ट्रेलियाको सामना गर्नेछ ।

कोरोना भाईरसको महामारीको कारण नेपालले आफ्नो होम खेल न्युट्रल भेन्युको रुपमा कुवेतमा खेलिरहेको हो ।

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउने अवसर रहेको छ ।

Image

यस समूहमा ४ खेलबाट शत प्रतिशत जितसहित १२ अंक जोडेको अष्ट्रेलिया शीर्ष स्थानमा छ । ५ खेलबाट समान १० अंक बनाएका कुवेत र जोर्डन गोल अन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।