भरतपुरमा पुनः मतदान रोक्न सर्बोच्चमा रिट

काठमाडौं, जेठ २१-

भरतपुर महानगरपालिका वडा नं.१९ मा पुनःमतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।भरतपुरमहानगरपालिका वडा नं. १९ मा एमालेबाट वडा सदस्यका उम्मेद्वार गुन्जनमान विक र अधिवक्ता तुलसीराम पाण्डेले निर्वाचन आयोगको निर्णय बदर गर्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् ।

रिटमा च्यातिएका ९० मतपत्र बदर मानेर मतगणना कार्य सूचारु गर्न गराउन उत्प्रेषण परमादेश माग गरिएको छ । रिटमाथि सुनुवाईका लागि भोली(सोमबार) पहिलो पेशी तोकिएको अदालत स्रोतले जनाएको छ ।रिट निवेदकले निर्वाचन आयोगको निर्णय गैर संवैधानिक, स्थापित मूल्य मान्यता विपरित, पूर्वाग्रहपूर्ण र नियोजित भएको दाबी गरेका छन् ।

निर्वाचन आयोगको यो निर्णय बदर नभएमा भविष्यमा अपराधिक कार्यले प्रश्रय पाउने, निर्वाचन अन्तहीन प्रक्रिया बन्ने र दोस्रो चरणको निर्वाचनमा समेत सत्तापक्षको प्रभावमा परि निर्वाचन आयोगले निष्पक्ष निर्वाचन गराउन नसक्ने रिट निवेदकले उल्लेख गरेका छन् ।

गत जेठ १४ गते भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणनाका क्रममा माओवादीका मतगणना प्रतिनिधिले मतपत्र च्यातेको थिए ।मतपत्र च्यातिएको ५ दिनपछि निर्वाचन आयोगले हिजो पुनःमतदान गर्ने निर्णय गरेको थियो । ईमेजवाट