राज्यका अंगहरु आग्रह र पूर्वाग्रहले चल्नुहुँदैन :प्रधानन्यायाधीश कार्की

काठमाडौ,वैशाख ,२६ –

प्रधानन्यायाधिश सुशीला कार्कीले संविधान र कानुनले सुम्पिएको जिम्मेवारी पुरा गर्न आफू प्रतिवद्ध रहेको बताउनु भएको छ ।प्रधानन्यायाधिश कार्कीले राज्यका प्रमुख अंगहरु कुनै आग्रह वा पूर्वाग्रहबाट निर्देशित हुन नदिनेमा आफू सचेत रहेको पनि स्पष्ट पार्नु भयो ।

६५ औं कानुन दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले संविधान र कानुनको अन्तिम ब्याख्या गर्ने निकाय न्यायालय भएकाले सोही अनुसारको जिम्मेवारी पुरा गर्न आफू दृढ रहेको पनि उल्लेख गर्नु भयो ।

प्रधानन्यायाधिश कार्कीले न्यायालय आफ्नो सिमा भित्र रहेर जनतालाई न्यायमा पहुँच पुर्‍याउन लागि परेको पनि स्पष्ट पार्नु भयो ।उहाँले राज्यका प्रमुख अंगहरुको सहकार्यबाटै जनताले न्याय पाउने पनि बताउनु भयो ।

प्रधानन्यायाधिश कार्कीले संविधान कार्यान्वयन राज्यको सर्वाधिक महत्वको विषय भएको उल्लेख गर्दै त्यसलाई सफल बनाउन पनि राज्यका सबै अंगको क्रियाशील भूमिका अनिवार्य रहेको उल्लेख गर्नु भयो ।

उहाँले राज्यका सबै अंगले आ आफनो सीमा भित्र रहेर काम गर्नुपर्ने आवश्यक्ता पनि औल्याउनु भयो ।

प्रधानन्यायाधिश कार्कीले न्यायालयको यात्रा चुनौतिपूर्ण रहेको समेत बताउनु भयो । उहाँले जनतालाई न्याय दिलाउन राजनीतिक दलहरुको इच्छा शक्तिको आवश्यक्तामा पनि जोड दिनु भयो ।