लिम्पियाधुरा सहितका सीमा विवाद द्धिपक्षीय संयन्त्रमार्फत समाधान गर्न मोदीसँग देउवाको आग्रह

नेपाल र भारतको जस्तो सम्बन्ध विश्वमै देख्न नपाईने भारतीय प्रधानमन्त्री मोदी

काठमाडौं,चैत्र,१९-प्रधानमन्त्री शेरबहादुर देउवाले लिम्प्यिाधुरा लगायतका नेपाल-भारतबीचको सीमा विवाद द्धिपक्षीय संयन्त्रमार्फत समाधान गर्न भारतीय समकक्षी नरेन्द्र मोदीसँग आग्रह गर्नुभएको छ ।

नयाँदिल्लीको हैदराबाद हाउसमा शनिबार भएको द्धिपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उहाँले समकक्षी मोदीसँग सीमा विवादको कुरा उठाउनुभएको हो ।

प्रधानमन्त्री देउवाले आफूहरूबीच सीमा विवादका विषयमा छलफल भएको र द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न आग्रह गरेको जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भारतसमक्ष थप तीनवटा हवाइ रुट उपलब्ध गराउन माग गर्नुभयो ।

भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको विषयमा कुराकानी भएको बताउँदै उहाँले, महेन्द्रनगर, नेपालगन्ज र जनकपुरको हवाइ रुट उपलब्ध गराउन आग्रह गरेको उल्लेख गर्नुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतको जस्तो सम्बन्ध कतै नभएको बताउनुभयो ।

दुई देशको सभ्यता, संस्कृति र आदानप्रदानको धागो प्राचीन कालबाटै जोडिएको भन्दै भारत र नेपालबीचको मित्रता तथा नागरिक सम्बन्धको उदाहरण विश्वमै कहीँ देख्न नपाइने उहाँको भनाइ थियो ।

मोदीले पञ्चेश्वर बहुउद्देशीय जलविद्युत् परियोजना ऊर्जा क्षेत्रका लागि गेमचेन्जर हुने भन्दै भारतीय कम्पनीहरूलाई नेपालको जलविद्युत् विकासमा अझै बढी सहभागिताका लागि देउवा र आफूबीच सहमति भएको जानकारी दिनुभयो ।

नेपालमा बढी भएको विद्युत् भारतीय बजारमा आउँदा आफुलाई खुसी लागेको उहाँको भनाइ थियो ।