हाम्रा कुन नेताको पढाइ कति, डबल डिग्री देखि अन्डर एसएलसी सम्मका मन्त्री

काठमाण्डौं,असोज,२३-

एक टेलिभिजन कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई नेताहरूको योग्यताबारे प्रश्न गरियो । देउवाले जंगिएर त्यसको जवाफ दिए । त्यो सन्दर्भ त्यतिवेला सामाजिक सञ्जालमा भाइरल नै भयो । यसरी नेता तथा मन्त्रीहरूको शैक्षिक योग्यता आमचासोको विषय हुने गरेको छ ।

डिग्री गरेका युवा देशमा रोजगारी नभएर खाडी जानुपरेका वेला नपढेको नेताले देश चलाउँदा देश पछि परेको टिप्पणीसमेत हुने गरेको छ । त्यहीमाथि अहिले इतिहासमै सबैभन्दा ठूलो मन्त्रिपरिषद् गठन भएको छ । खासमा नेपाली नेताले कति पढेका छन् त ?

पिएचडी गरेका एक्ला मन्त्री डा. गोपाल दहित ५४ सदस्यीय मन्त्रिपरिषद्मा एकजना मात्र पिएचडी गरेका मन्त्री छन् । भूमिसुधार तथा व्यवस्थामन्त्री डा. गोपाल दहितले कानुन र संस्कृतिमा विद्यावारिधि (पिएचडी) गरेका छन् । साथै, उनले व्यवस्थापनमा स्नातकोत्तरसमेत गरेका छन् । वर्तमान मन्त्रिपरिषद्मा पिएचडी गर्ने उनी एक्ला मन्त्री हुन् । दहित नेपाल लोकतान्त्रिक फोरमबाट मन्त्री भएका हुन् ।

डबल डिग्री गरेका दुईजना

मन्त्रिमण्डलमा दुईजनाले दोहोरो स्नातकोत्तर गरेका छन् । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले राजनीतिशास्त्र र समाजशास्त्रमा एमए गरेका छन् । त्यस्तै वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले राजनीतिशास्त्र र अंग्रेजीमा एमए तथा कानुनमा स्नातक गरेका छन् ।

प्रधानमन्त्री एमए पास

– प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिशास्त्रमा एमए तथा कानुनमा स्नातक गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाटै एमए गरेका हुन् ।
– अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
– रक्षामन्त्री भीमसेनदास प्रधानले रसायनशास्त्रमा एमएस्सी गरेका छन् ।
– भौतिक योजना तथा यातायातमन्त्री वीरबहादुर बलायरले गणित विषयमा एमए गरेका छन् ।
– स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले कानुनमा स्नातकोत्तर र वाणिज्यशास्त्रमा स्नातक गरेका छन् ।
– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनले कानुनमा स्नातक पनि सकाएका छन् ।

– खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले विज्ञान (गणित) मा स्नातकोत्तर गरेका छन् ।
– युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी अर्थशास्त्रका स्नातकोत्तर हुन् ।
– भर्खरै राप्रपा (प्रजातान्त्रिक) को कोटाबाट उद्योगमन्त्री बनेका सुनीलबहादुर थापाले अमेरिकाबाट एमए गरेका छन् । उनले जनप्रशासन विषयको डिग्री हासिल गरेका हुन् ।
– भौतिक योजना तथा यातायात राज्यमन्त्री सीता गुरुङ राजनीतिशास्त्रकी स्नातकोत्तर हुन् ।
– शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले राजनीतिशास्त्रमा एमए गरेका छन् ।
– वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द वाणिज्यशास्त्रका स्नातकोत्तर हुन् ।
– अर्थ राज्यमन्त्री उदयशमशेर राणाले अमेरिकाबाट अन्तर्रा्ष्ट्रिय सम्बन्ध विषयमा एमए गरेका छन् । उनी इतिहास विषयका स्नातक पनि हुन् ।
– युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीले व्यवस्थापनमा एमए गरेका छन् । त्यस्तै, उनले शिक्षाशास्त्रमा स्नातक पनि गरेका छन् ।
– संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीले विज्ञान (गणित) विषयमा एमए गरेका छन् ।
– महिला बालबालिका तथा समाजकल्याण राज्यमन्त्री मोहम्मद जाकिर हुसेनले वाणिज्यशास्त्रमा एमए गरेका छन् ।
– स्वास्थ्य राज्यमन्त्री रामसिंह यादवले समाजशास्त्रमा एमए गरेका छन् । साथै, उनले कानुनमा समेत स्नातक गरेका छन् ।
– गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
बिए गरेका मन्त्रीहरु

– उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले शिक्षाशास्त्रमा स्नातक गरेका छन् ।
– उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले इतिहास विषयमा बिए पास गरेका छन् ।
– उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातक गरेका छन् ।
– गृहमन्त्री जनार्दन शर्माले शिक्षा संकायमा स्नातक गरेका छन् ।
– विज्ञान तथा प्रविधिमन्त्री दीपक बोहराले राजनीतिशास्त्रमा स्नातक गरेका छन् ।
– सहरी विकासमन्त्री प्रभु साह कानुनका स्नातक हुन् ।
– सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेत अर्थशास्त्रकी स्नातक हुन् ।
– कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापा राजनीतिशास्त्रका स्नातक हुन् ।
– सिँचाइमन्त्री सञ्जयकुमार गौतमले राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातक गरेका छन् ।
– सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले व्यवस्थापन र भेटेरेनरी जेटिए दुवैमा स्नातक गरेका छन् ।
– महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले शिक्षाशास्त्रमा स्नातक गरेकी छिन् ।
– वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले मानविकीमा बिएसम्म पढेका छन् ।
– कृषि विकास राज्यमन्त्री सरिता प्रसाईंले मानविकी (अर्थशास्त्र र इतिहास) मा स्नातक गरेकी छिन् ।
– खानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुल रज्जाकगद्दीले पनि मानविकीमा स्नातक गरेका छन् ।
– श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीले स्नातकसम्म अध्ययन गरेका छन् ।
– भूसंरक्षण तथा व्यवस्थापन राज्यमन्त्री यशोदाकुमारी लामा राजनीतिशास्त्रकी स्नातक हुन् ।
– ऊर्जा राज्यमन्त्री शम्भुलाल श्रेष्ठ व्यवस्थापन विषयका स्नातक हुन् ।
– उद्योग राज्यमन्त्री रेसम लामाले व्यवस्थापन विषयमा स्नातक गरेका छन् ।
आइए पढेका मन्त्रीहरु

– आपूर्तिमन्त्री शिवकुमार मण्डलले मानविकी संकायमा आइए गरेका छन् ।
– पशुपक्षी विकासमन्त्री सन्तकुमार थारूले पनि आइसम्म अध्यययन गरेका छन् ।
– जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले आइसम्म पढेकी छिन् ।
– सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले मानविकीमा आइएसम्म पढेका छन् ।
– पशुपक्षी विकास राज्यमन्त्री गोमा कुँवरले अर्थशास्त्र विषयमा आइएसम्म पढेकी छिन् ।
एसएलसी मात्र गरेका 

– श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले एसएलसीसम्म मात्र पढेका छन् ।
– ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले पनि एसएलसीभन्दा बढी पढेका छैनन् ।
– कानुन, न्याय तथा संसदीय व्यवस्था राज्यमन्त्री दिलमान पाख्रिनले एसएलसीसम्म पढेका छन् ।
– सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काले एसएलसीभन्दा बढी पढेकी छैनन् ।
– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुमित्रा थरुनीको शैक्षिक योग्यता पनि एसएलसीसम्म मात्र छ ।
– आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकको एसएलसीसम्मको मात्र शैक्षिक योग्यता छ ।
– सामान्य प्रशासन राज्यमन्त्री ओङ्दी शेर्पा पनि एसएलसीवाला हुन् ।
अन्डर एसएलसीवाला र स्वअध्ययनवाला

– गोरखा क्षेत्र नं. ३ बाट माओवादी केन्द्रबाट निर्वा्चित सांसद भएर हाल सामान्य प्रशासन राज्यमन्त्री भएका छमबहादुर गुरुङले १० कक्षासम्म मात्र अध्ययन गरेका छन् ।
– कांग्रेसबाट सिँचाइ राज्यमन्त्री बनेका अमरसिंह पुनले आफूले हाइस्कुलसम्म पढेको बताए । रोल्पाका सांसदसमेत रहेका उनले समाजशास्त्र र राजनीतिशास्त्र स्वअध्ययन गरेको बताएका छन् ।
यी हुन् विदेश पढेका नेता

– शेरबहादुर देउवाः हालका प्रधानमन्त्री शेरबहादुर देउवा नै विदेशमा अध्ययन गरेका नेता हुन् । लन्डन स्कुल्स् अफ इकोनोमिक्सको स्कलरसिप पाएका उनी अर्थशास्त्र पढ्न भनेर त्यहाँ पुगेका थिए । देउवाले नेपालको त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए तथा कानुनमा स्नातक भने गरेका छन् ।
– पटक–पटक अर्थमन्त्री भएका डा. रामशरण महतले अमेरिकाबाट अर्थशास्त्रमा पिएचडी गरेका छन् ।
– पूर्वपरराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले अमेरिकाबाट अर्थशास्त्रमा पिएचडी गरेका छन् ।

– पूर्वअर्थमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले जर्मनीबाट अर्थशास्त्रमा एमए गरेका छन् ।
– कांग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले अमेरिकामा पढेका हुन् । पार्टीले स्कलरसिप मिलाइदिएपछि त्यहाँ पुगेका उनले तथ्यांकशास्त्रमा पिएचडी गरे ।
– माओवादी केन्द्रका नेता रामबहादुर थापा रसिया पढ्न गएका थिए । इन्जिनियरिङ (बिई) पढ्न भनेर गएका उनी पढ्न नसकेर फर्किएको स्रोत बताउँछ ।
– राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा बेलायतको अक्सफोर्ड विश्वविद्यालयका ग्य्राजुएट हुन् । उनले त्यहाँ साइन्समा ग्य्राजुएसन गरेका थिए । उनले आइएस्सी पनि अक्सफोर्डबाटै गरेका हुन् ।
– राप्रपा (राष्ट्रवादी) का संयोजक डा. प्रकाशचन्द्र लोहनीले अमेरिकाको क्यालिफोर्नियाबाट अर्थशास्त्रमा पिएचडी गरेका हुन् । पूर्वअर्थमन्त्रीसमेत रहेका लोहनी विद्यार्थीकालमा निकै ट्यालेन्ट थिए ।
– प्रधानमन्त्रीपत्नी एवं सांसद आरजु राणा देउवाले अमेरिकामा पढेकी हुन् । उनले साइक्लोजीमा पिएचडी गरेकी छिन् ।
– कांग्रेस नेता डा. नारायण खड्काले क्यानडाबाट अर्थशास्त्रमा पिएचडी गरेका छन् ।उनीसँग क्यानडाको पिआर पनि भएको बताइन्छ । क्यानडाको पिआर भएकै कारण उनलाई चीनले राजदूत हुनबाट रोकेको थियो ।

सन् १९८९ मा इटालियन–क्यानेडियन युवतीसँग विवाह गरेपछि पिआर पाएको स्रोतको दाबी छ ।
तर, अन्तर्वार्ताहरूमा भने डा. खड्काले भारतको पूर्णेबाट पिएचडी गरेको बताउने गरेका छन् ।

उनले युरोपका विभिन्न क्षेत्रमा गएर स्टडी गरेको पनि बताइन्छ । उनकी श्रीमतीले समेत फिजिक्समा पिएचडी गरेकी छिन् । यसबाहेक भारत सहित अन्य देशमा पढ्ने पनि धेरै नेताहरु नेपालमा छन् । पुरा खबरबाट साभार