काठमाडौं,माघ,४-मधेश प्रदेश नामाकरण गरिएकोमा असहमति जनाउँदै जनकपुरका युवाहरुले प्रदेश सांसदहरुको पुत्ला जलाएका छन ।
२२ जिल्लालाई समेटेर मात्रै मधेश प्रदेश बनाउनुपर्नेमा अन्यथा भएको भन्दै उनीहरुले त्यसको विरोधमा मंगलबार बिहानै जनकपुरको जानकी चोकमा प्रदेश सांसदहरुको पुत्ला दोहन गरेका हुन । ८ जिल्लाको मिथिला र भोजपुराको पहिचानलाई समाप्त हुने गरी मधेश प्रदेश बनाएकाले त्यसको विरोधमा प्रर्दशन गर्नु परेको युवा सुशील कर्णले बताउनुभयो ।
उहाँले २२ जिल्लालाई मधेश प्रदेश बनाउनुपर्ने मागसहित मधेश आन्दोलन भएको उल्लेख गर्दै ८ जिल्लालाई मात्रै समेटिएर बनाइएको मधेश प्रदेश मान्य नहुने चेतावनी समेत दिनुभयो ।
उनीहरुले मधेशी जनताको पहिचानमाथि नै खेलवाड गर्ने कार्य मधेस केन्द्रित दलहरुबाट भएको आरोप समेत लगाएका छन । पुतला दहन गरिरहँदा युवाहरुले ‘प्रदेश सांसद मुर्दावाद’, ‘८ जिल्लालाई मात्रै मधेश प्रदेश मान्दैनौं’, ‘पहिचानसहितको मिथिला-भोजपुरा प्रदेश नामाकरण गर’ लगायतका नाराहरु लगाएका हुन् ।