नेपालगंजमा महोत्सवको तयारी तीब्र : हेलिकप्टर चढेर अवलोकन गर्ने अवसर

नेपालगंज,पुस,१९-
पौष २६ गतेदेखि माघ ८ गतेसम्म संचालन हुने नेपालगन्ज कृषि पर्यटन व्यापार तथा बृहत संस्कृति महोत्सवको तयारी तीब्र पारिएको छ । आयोजक एजी सर्भिसेज प्रा.लि.ले नेपालगन्जमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव सफल बनाउन भईरहेका कार्यहरुको विवरण सार्वजनिक गरेको छ ।

आयोजक एजी सर्भिसेजका अनुसार कारकाँदो चोक पूर्वस्थित राधाकृष्ण मन्दिर नजिकै आयोजना हुने महोत्सवमा ३ सय स्टल रहने छन् । जसमध्ये अधिकांश बुकिङ्ग भईसेकेका छन् । आफ्ना उत्पादन र सेवा प्रबद्र्धनार्थ स्टल बुकिङ्गका लागि व्यवसाय हेरेर १० हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म शुल्क निर्धारण गरिएको आयोजकको भनाई छ ।

करिब १ लाख दर्शकले अवलोकन गर्ने भनिएको महोत्सवमा प्रत्येक दिन नाम चलेका कलाकारहरुको प्रस्तुति रहने छ । आयोजकका अनुसार चन्द्र शर्मा, सम्झना लामिछाने, केदार घिमिरे(माग्ने बुढा) बिराज भट्ट, निखिल उप्रेती, सुनिल गिरी, मेलिना राई, ज्योति मगर, सरस्वती लामा, दुर्गेस थापा, अशोक दर्जी, अञ्जली अधिकारी, करिस्मा ढकाल, प्रकाश सोनी, झरना पुन, शान्ति श्री परियार लगायतका कलाकारहरुले महोत्सव अवलोकन गर्न आउनेहरुलाई मनोरञ्जन प्रदान गर्नेछन् ।

यो महोत्सवमा नेपालगन्जमै पहिलो पटक हेलिकप्टरबाट यहाँका पर्यटकीय स्थलहरुको अवलोकन गराउने पनि तय भईसकेको आयोजकको भनाई छ । ७ हजार रुपैयाँमा हेलिकप्टर चढेर नेपालगन्ज सहरको हवाई अवलोकन गर्न सकिने व्यवस्था मिलाईएको आयोजक एजी सर्भिसेजका अध्यक्ष नन्द बहादुर बुढाले जानकारी दिए । सात हजार रुपैया तिर्नेले १२ देखि १५ मिनेटसम्मको उडानबाट नेपालगन्जको अवलोकन गर्न पाउने बताईएको छ ।

१ करोड रुपैयाँको लगानीमा आयोजन गर्न लागिएको महोत्सवमा स्थानीय कलाकारिताको प्रबद्र्धनका लागि पनि ध्यायान पु¥याईएको आयोजकको दाबी छ । महोत्सव प्रचार–प्रसार संयोजक सुनिल रेग्मीका अनुसार एकल नृत्य प्रतियोगिता पनि महोत्सवमा हुँदैछ । एकल नृत्य प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त गर्नेहरुलाई क्रमशः ५० हजार, ३० हजार, २० हजार र १० हजार रुपैयाँ र प्रमाणपत्रबाट पुरस्कृत गरिने रेग्मीले जानकारी दिए ।