मोलुङ गाउँपालिकामा पम्पिङ प्रणालीबाट घरघरै धारा पुग्यो

ओखलढुंगा,भाद्र,३०-

ओखलढुंगाको मोलुङ गाउँपालिकाको वडा नं. २ स्थित लामीडाँडामा पम्पिङ प्रणालीबाट खानेपानी आयोजना सञ्चालन भएपछि घरघरै खानेपानी पुगेको छ । खानेपानीको मुहान गाउँमा नभएपछि एक किलोमिटर तलबाट पम्पिङ प्रणाली जडान गरि खानेपानी वितरण गरिएको हो ।

यस अघि यहाँ खानेपानीको चरम समस्या थियो । अहिले घरघरै खानेपानी पुगेपछि स्थानीय हर्षित भएका छन् । खानेपानी अहिले ४८ परिवारलाई वितरण गरिएको छ । पानीका धारा घर आँगनैमा आएपछि सहज भएको स्थानीयले बताएका छन् । उक्त आयोजना संचालन गर्न वडा कार्यालयबाट ४ लाख विनियोजन भएको थियो ।

रकम अभावमा आयोजना अलपत्र परेपछि प्रदेश सभा क का सांसद अम्बिरबाबु गुरुङले व्यक्तिगत रुपमा १ लाख ५० हजार र समाजसेवी प्रकाश दाहालले ५० हजार रुपैंया सहयोग गरेपछि आयोजना पुरा भएको आयोजना निर्माण समितिका संयोजक अशोक दाहालले जानकारी दिनुभयो । स्थानीयले उक्त आयोजनामा ४५ हजार बराबरको श्रमदान गरेका थिए ।