संघीय शिक्षा ऐनले उत्पीडित शिक्षक कर्मचारीको माग सम्बोधन गर्छ : सभामुख महरा

काठमाडौं,भाद्र,३०-

सभामुख कृष्णबहादुर महरालले अब बन्ने संघीय शिक्षा ऐनले उत्पीडित शिक्षक कर्मचारीहरुको समस्या समाधान गर्ने बताएका छन् । शिक्षकमा समस्या रहँदासम्म शिक्षा सुधार नहुने भन्दै सभामुख महराले शिक्षकहरुलाई सिकाइ सुधारमा केन्द्रीत हुन आग्रह गरे ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो) काठमाडौं जिल्ला समितिले राष्ट्रिय शिक्षा दिवस तथा बाल दिवसको अवसरमा शनिवार आयोजना गरेको उत्कृष्ट शिक्षक, विद्यालय सम्मान तथा मावि तहस्तरीय नृत्य प्रतियोगिताको उद्घाटन गर्दै सभामुख महराले गुणस्तरीय शिक्षा समृद्ध मुलुकको प्रवेशद्वार समेत भएको दावी गरे ।

कार्यक्रममा पूर्व शिक्षामन्त्री एवं नेकपाका नेता गंगालाल तुलाधरले शिक्षकहरु संगठित हुँदै माग सम्बोधनका लागि दवाव दिनुपर्ने बताए । शिक्षामा २० प्रतिशत वजेट सुनिश्चितता र सिकाइ सुधारका सवालमा शिक्षकहरुले सरकारलाई संगठितरुपमा दवाव दिनुपर्ने तुलाधरको भनाइ थियो ।

यसैगरी, पूर्वमन्त्री एवं नेकपाका नेता अग्नीप्रसाद सापकोटाले राजनीतिक क्रान्तिको चरण सकिएकाले शिक्षकहरुको भुमिका अब शैक्षिक क्रान्तिमा केन्द्रीत हुनुपर्ने बताए । राजनीतिक संक्रमण सकियो अब समृद्ध मुलुक निर्माणका लागि सिकाइ सुधारमा सवै जुट्नुको विकल्प नभएको सापकोटाको भनाइ थियो ।

कार्यक्रममा नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले शिक्षककर्मचारीहरुको समस्या समाधानमा सरकार गम्भीर नभएको आरोप लगाए । शिक्षक महासंघ सवैखाले शिक्षकका समस्या समाधान र शैक्षिक सुधारको अभियानमा प्रतिवद्ध रहेकोमा थापाको जोड थियो ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)का अध्यक्ष शंकर अधिकारीले उत्पीडित शिक्षक कर्मचारीका मागहरु सम्बोधन गर्ने गरी संघीय शिक्षा ऐन नआए त्यो आफूहरुलाई मान्य नहुने चेतावनी दिए ।

शिक्षकमाथिको कुनैपनि हस्तक्षेप युएण्टोलाई अमान्य रहेको भन्दै शिक्षकका समस्या समाधान नहुने गरी आएको संघीय शिक्षा ऐन च्यात्न शिक्षक महासंघ र युएण्टो तयार रहेको अधिकारीले स्पष्ट पारे ।

उत्कृष्टको सम्मान !!

एकीकृत अखिल नेपाल शिक्षक संगठन काठमाडौंले पूर्वशिक्षामन्त्री, उत्कृष्ट शिक्षक एवं विद्यालयहरुलाई सम्मान गरेको छ । संगठनले पूर्व शिक्षामन्त्रीद्वव गंगालाल तुलाधार र धनीराम पौडेल, पूर्वमन्त्री अग्नी सापकोटालाई सम्मान गरेको हो ।

यसैगरी शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा, एकीकृत खलिन नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारी, संगठनका ३ नम्बर प्रदेश महासचिव भिम पोखरेल र विजय स्मारक माविका सहायक प्रअ झम्क चौलागाइलाई संगठनले सम्मान गरेको हो । उनीहरु सवैलाई सभामुख कृष्णबहादुर महराले सम्मान गरेका हुन् ।

यसैगरी, संगठनले विश्न विश्वकेतन माविका प्रअ हेरम्वराज कँडेल, जनसेवा माविका प्रअ नन्दकुमारी महर्जन, जीतबहादुर लामिछाने, निर्मला शाक्यलगायतका शिक्षकहरुलाई उत्कृष्ट शिक्षक भन्दै सम्मान गरेको हो ।

संगठनले उत्कृष्ट विद्यालय भन्दै ज्ञानोदय मावि बाफल,  आदर्श सौलयुवक मावि बुङमति, बालउद्दार मावि कपन, एलआरआइ स्कूल कलंकीलगायतलाई पनि सम्मान गरेको छ ।

यसैगरी, कार्यक्रममा डा. विहानी थापा, डा. टिकाराम भट्ट, ज्ञानबहादुर अधिकारीलगायत उत्कृष्ट शिक्षकहरुलाई समेत सम्मान र पुरस्कृत गरिएको छ ।

कार्यक्रम युएण्टोका प्रदेश नम्बर ३ का महासचिव भिम पोखरेलको सभापतित्व र काठमाडौं जिल्ला समन्वय समितिका अध्यक्ष कमालदिन मियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।