गुनासो नआउने गरी काम गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौं,पुष,१८-उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जनताको गुनासो नआउने गरी काम गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनु भएको छ ।

सोमबार भर्चुअल माध्यम मार्फत देशभरका प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा निकायका प्रमुखको बैठकमा गृहमन्त्री लामिछानेले अहिलेको शीतलहर, जाडो जस्ता प्राकृतिक प्रकोपबाट सर्वसाधारणलाई जोगाउने योजना बनाएर काम गर्न पनि निर्देशन दिनुभयो ।

गृहमन्त्रालयमा भएको भर्चुअल बैठकमा उहाँले शान्ति सुरक्षाको अवस्था लगायतका विषयमा प्रमुख जिल्ला अधिकारीहरुसँग छलफल गर्नुभएको थियो ।

गृहमन्त्री लामिछानेले नागरिकले शुसाशनको प्रत्याभूति महसुस हुनेगरी काम गर्न पनि निर्देशन दिनु भएको थियो । उहाँले बिपदबाट जनधनको क्षति नहोस भनेर पूर्वतयारीका साथ काम गर्नु पर्नेमा समेत जोड दिनुभएको थियो ।

गृहमन्त्री लामिछानेले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुभएको थियो । उहाँले जनताका काम छिटो र सहज रुपमा गर्नु पर्ने पनि बताउनु भएको थियो ।