कञ्चनपुरमा ५३ प्रतिशतले बढ्यो धान उत्पादन, झन्डै २ लाख मेट्रिक टन धान भित्र्याइयो

Image Not Foundकञ्चनपुर,पुष,१८-कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ।गतवर्षको तुलनामा यस वर्ष जिल्लामा धानको उत्पादन ५३ प्रतिशतले बढेको कृषि ज्ञान केन्द्र कञ्चनपुरले बताएको छ।

केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले जिल्लामा यस वर्ष १ लाख ९० हजार मेट्रिक टन धान उत्पादन भएको जानकारी दिए, जुन गतवर्षको भन्दा ६६ हजार ४०० मेट्रिक टन बढी हो।गतवर्ष जिल्लामा १ लाख २३ हजार ६०० मेट्रिक टन धान उत्पादन भएको थियो। 

कञ्चनपुरमा यस वर्ष ४८ हजार ४६९ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो।धानको उत्पादकत्व प्रतिहेक्टर ३ दशमलव ९२ टन रहेको कृषि ज्ञान केन्द्रको तथ्यांक छ।गतवर्ष जिल्लामा ४८ हजार ४६९ हेक्टरमा धानखेती गरिएकोमा उत्पादकत्व प्रतिहेक्टर २ दशमलव ५५ मेट्रिक टन थियो।

धानखेतीमा उन्नत बीउबिजन, मलखाद, सिँचाइ र यन्त्रीकरणको प्रयोगले उत्पादकत्व बढेको सूचना अधिकारी जोशीले बताउनुभयो। जिल्लामा किसानले बाली लगाउने समयमा विगतका वर्षमा उन्नत बीउ र मल अभाव हुने गरेको थियो।गतवर्ष बेमौसमी वर्षाका कारण धानबालीमा ठूलो मात्रामा क्षति पुगेकाले पनि उत्पादकत्व घटेको थियो।

धानको उत्पादकत्व मापनका लागि कृषि ज्ञान केन्द्रले जिल्लाका विभिन्न पालिकाबाट १४० ओटा नमूना संकलन गरेको थियो।सोही नमूना परीक्षण गरी क्षेत्रफल र उत्पादनको आधारमा जिल्लाको औसत उत्पादकत्व मापन गरिएको हो।

‘कञ्चनपुरमा कृषि उत्पादकत्वमा धेरै वृद्धि गर्न सकिने सम्भावना देखिन्छ,’ सूचना अधिकारी जोशीले भन्नुभयो, ‘समयमै मदखाद, उन्नत बीउबिजन, सिँचाइ र आधुनिक कृषि यन्त्र÷उपकरणको प्रयोग बढाउन सके उत्पादनमा उल्लेख्य रूपमा सुधार हुन्छ।’

उत्पादन र जनसंख्याको आधारमा कञ्चनपुरमा ८६ हजार १६ मेट्रिक टन धान बचत हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्यांक छ।जिल्लामा उत्पादित धान यहाँ खपत भएर सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा समेत निकासी हुने गरेको छ।आर्थिक खबरबाट