खुमबहादुरको गृह जिल्ला दाङमा सबै उम्मेद्वार उनि निकटका

नरेश खड्का,
दाङ, असार,१-

नेपाली कांग्रेसले दाङमा मेयर र उपमेयरका उम्मेद्वार बुधबार टुङ्गो लगाएको छ। तुलसीपुर उप–महानगरपालिकाको मेयरमा कांग्रेसले पूर्वसांसद गेहेन्द्र गिरीलाई उम्मेदवार बनाएको छ। गिरी नेपाली कांग्रेस दाङको दुई कार्यकाल सभापति भइसकेका नेता हुन्।

पार्टीको १३औं महाधिवेशनमा तुलसीपुर नगरको सभापतिमा निर्वाचित उनी महाधिवेशन प्रतिनिधिमा आउन नसक्दा जिल्लामा फेरि छाउने चाहानामा भने ब्रेक लागेको थियो।

त्यस्तै कांग्रेसले उप–मेयरमा अघि सारेकी देवीका नेपाली नेपाल दलित संघकी केन्द्रीय सचिव हुन्। उनी पार्टीको महासमिति सदस्य पनि हुन्। यसअघि नेपाली जिल्ला कार्यसमिति सदस्य थिइन्। तुलसीपुर उप–महानगरपालिका वडा नं। ७ गणेशपुर निवासी नेपाली प्रखर वक्ता र सानै उमेरमा राजनीतिक उचाईमा पुगेकी नेतृ हुन्।

त्यस्तै घोराही उप–महानगरपालिकामा कांग्रेसले क्षेत्रीय सभापति भूपवहादुर डाँगीलाई मेयर पदको उम्मेदवार बनाएको छ। डाँगी दाङ क्षेत्र नं। ३ मा लगातार दुई कार्यकाल क्षेत्रीय सभापतिमा निर्वाचित नेता हुन्। त्यसैगरी नेपाली कांग्रेसले घोराही उप–महानगरको उप–मेयरमा भने पुष्पा श्रेष्ठलाई उम्मेदवार बनाएको छ। श्रेष्ठ नेपाल महिला संघको पूर्व केन्द्रीय सदस्य हुन्।

दाङको लमही नगरपालिकामा कांग्रेसले जोगराज चौधरीलाई मेयरको उम्मेदवार बनाएको छ भने उप–मेयरमा देवका बेलवासेलाई अघि सारेको नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले जानकारी दिए।

राप्ती गाउँपालिकाको अध्यक्षका लागि प्रकाश चौधरीले टिकट पाउनुभएको भने उपाध्यक्षमा जगदम्बा चौधरीले टिकट पाउनुभएको छ । गढवा गाउँपालिकाको अध्यक्षका लागि श्रीपत चौधरीले टिकट पाउनुभएको छ भने सकुन्तला डिसीले उपाध्यक्ष पदमा टिकट पाउनुभएको छ ।

बंगलाचुली गाउँपालिकामा भोजराज पाण्डेयले अध्यक्ष पदका लागि टिकट पाउनुभएको छ भने उपाध्यक्षका लागि निर्मला खनालले टिकट पाउनुभएको छ । जिल्लाको राजपुर गाउँपालिकाका लागि जगतपाल योगीले अध्यक्षको टिकट पाउनुभएको छ भने उपाध्यक्षमा उमा चौधरीले टिकट पाउनुभएको छ ।

दाङमा सबै उम्मेद्वार खुमबहादुर निकटका

कांग्रेस भित्र प्रभावशाली मानिने केन्द्रीय सदस्य खुमबहादुर खड्काको गृह जिल्लामा प्रमुख पदहरुमा सबै उनी निकटकै व्यक्तिहरुले मात्रै टिकट पाएका छन्। आफूले भनेका उम्मेदवारले टिकट पाउनुपर्ने माग गर्दै खुमबहादुर खड्का सानेपास्थित पार्टी कार्यालयको बैठक लगातार दुई दिन वहिस्कार गरेको स्रोतले बताएको छ।

पूर्वमन्त्री समेत रहेका खड्का लगातार दुई दिन पार्टी कार्यालय नगएपछि टिकट वितरणमा केही विलम्व हुन गएको स्रोतले बतायो। खुमबहादुर खड्काले आफूले भनेका व्यक्तिहरुले टिकट पाएमा मात्रै सानेपास्थित पार्टी कार्यालय जाने अडान लिएपछि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा बाध्य भएर सबै खड्काले नै अघि सारेका उम्मेदवारलाई टिकट प्रदान गरेको स्रोतले बताएको छ।

खड्काको साथ समर्थन विना निर्वाचन जित्न सम्भव नहुने देखेपछि अन्य सबै पक्ष खड्काले नै अघि सारेका उम्मेद्वारमा सहमत भएको नाम उल्लेख नगर्ने सर्तमा एकजना केन्द्रीय सदस्यले बताए।

जिल्लामा क्रियाशिल अन्य सबै दलहरुले असअघि नै उम्मेदवारको टुङ्गो लगाएको भए पनि नेपाली कांग्रेसले भने दाङका दुई उप–महानगपालिका र एउटा नगरपालिकामा उम्मेदवारको टुङ्गो बुधवार मात्रै लगाएको हो।