लोकसेवा आयोग आजदेखि ६७ वर्षमा प्रवेश

आज आयोगले विभिन्न कार्याक्रम गरि वार्षिकोत्सव मनाउँदै

काठमाडौ,असार , १

लोकसेवा आयोग आज ६६ वर्ष पुरा गरी ६७ औँ वर्षमा प्रवेश गरेको छ । ६७ औ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आज आयोगले विभिन्न कार्याक्रम गरि वार्षिकोत्सव मनाउँदै छ ।

सरकारी कार्यालयहरुमा योग्य कर्मचारी छनोट गर्ने उदेश्यका साथ नेपाल सरकार वैधानिक कानुन २००४ मा दरखास्त परिषदको नाममा लोकसेवा आयोगको अवधारणा र संरचनाको सुरुवात भएको थियो ।

विंस २००८ साल असार १ गते अन्तरिम शासन विधान, २००७ को व्यवस्थाअनुसार लोक सेवा आयोग स्थापना भएको हो । नेपालको संविधानले लोक सेवा आयोगको क्षेत्राधिकारमा पनि विस्तार गरिदिएको छ ।

निजामती सेवाबाहेकको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र अन्य सरकारी सेवालगायत नेपाल सरकारको पचास प्रतिशतभन्दा बढी जायजेथा रहेको संगठित संस्थाको लिखित परीक्षा लोकसेवा आयोगले लिने प्रावधान थप गरिएको छ ।

यसैबिच लोकसेवा आयोगले आजदेखि सुरक्षा निकायलगायत सरकारको पूरा वा आंशिक स्वामित्वमा रहेका सङ्गठित संस्थाले अब कर्मचारीसम्बन्धी आफूखुसी नियम बनाउन नपाइने जनाएको छ ।

स्थापनाको ६७ वर्ष प्रवेशको अवसर पारेर लोकसेवा आयोगले आजदेखि लागू हुने गरी सबै निकायका लागि एउटै सामान्य सिद्धान्त लागू गर्ने भएपछि आफूखुसी नियम बनाउने परम्परा अन्त्य हुने भएको हो ।

सङ्गठित संस्थामा कर्मचारीको सेवासर्तसम्बन्धी कानुन, योग्यता प्रणाली, बढुवा र विभागीय कारबाही गर्दा अवलम्बन गर्ने सामान्य सिद्धान्त फरकफरक भएकाले एकरूपता कायम गर्ने उद्देश्यले सबैका लागि एउटै नियम बनाउन लागिएको आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले जानकारी दिनुभयो ।

आजदेखि यो नियम लागु गर्ने र जसले सबै सङ्गठित संस्थामा कर्मचारीसँग सम्बन्धित बिषयमा एकरूपता आउने बताउदै अध्यक्ष मैनालीले आजदेखि नै सबै सङ्गठित संस्थालाई पत्राचार गरिने जानकारी दिनुभयो ।

यसैगरी आयोगले आजदेखि नै आफ्नो छुट्टै मोबाइल एप सञ्चालनमा ल्याउने भएको छ । एप सञ्चालनमा आएपछि आयोगबारे सम्पूर्ण सूचना तथा जानकारी पाउन सकिनेछ । एपको प्रयोगले परीक्षार्थीले आफ्नो परीक्षा केन्द्रसमेत पत्ता लगाउन सक्ने आयोगका सहसचिव एवं मुख्य मनोविज्ञानवेत्ता (सहसचिव) डा. खगेन्द्र सुवेदीले बताउनुभयो ।नेपालवाणीवाट