सरकारले प्रदेश नम्बर २ को चुनाव तेस्रो चरणमा गर्ने

चुनावको मिती भने निर्वाचन आयोगसँग दिउँसो ३ बजे छलफल गरेर तय गरिने

काठमाडौं, असार,१-

सरकारले प्रदेश नम्बर २ को चुनाव तेस्रो चरणमा गर्ने भएको छ । राष्ट्रिय जनता पार्टी नेपाललाई चुनावमा ल्याउनका लागि सिंहदरबारमा आज भएको छलफलमा सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रले यस्तो प्रस्ताव गरेका हुन् । चुनावको मिति भने अहिले प्रस्ताव गरिएको छैन ।

बैठकमा सत्तापक्षले दोस्रो चरणको निर्वाचनका लागि भोली हुने उमेद्बारी मनोनयन पनि केही दिन सार्न प्रस्ताव गरिएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

यस विषयमा राजपा सकारात्मक रहेको भुसालको दाबी छ । भोलीको मनोनयन गर्ने समय कहिलेसम्म सार्ने भन्ने निर्णय भने निर्वाचन आयोगसँग दिउँसो ३ बजे छलफल गरेर तय गरिने बताइएको छ ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर विहान निर्वाचन आयोगका पदाधिकारीले असार १४ को चुनाव कुनै हालतमा सार्न नसकिने बताएका थिए ।