प्रधानमन्त्री ओलीद्वारा संसदमा सम्बोधन

जनकपुरमा मोदीको अभिनन्दनमा गरिएका केही अभिव्यक्ति राष्ट्रिय मर्यादाको कसीमा कमजोर : प्रम ओली

काठमाडौँ,बैशाख,३०-

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार संसदमा सम्बोधन गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने राजकीय नेपाल भ्रमणका बारेमा सदनलाई जानकारी दिनुभएको छ ।

 
मोदीको भ्रमणको समयमा नेपाली जनताले देखाएको चासो र टिप्पणी प्रति धन्यवाद दिँदै उनले जनकपुरमा मोदीको नागरिक अभिनन्दनको क्रममा अभिव्यक्त भएका केही कुराहरु राष्ट्रिय र कुटनीतिक मर्यादाको कसीमा कमजोर रहेको बताउनुभयो ।
 
उहाँले कसैको नाम नलिई कनै राष्ट्रिय नीतिभन्दा फरक ढंगको अभिव्यक्ति आएको प्रति असन्तुष्टी जनाउँदै नेपाल सरकारको परराष्ट्र र नेपाल–भारत सम्बन्ध संचालनका विषयमा आफ्नै धारणाहरु रहेको बताउनुभयो ।

उहाँले मोदीको भ्रमणले नेपाल र भारतबीचको मैत्री सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउन मद्दत गर्नुका साथै पुराना सोचहरु विपरित आ–आफ्ना मूल्य मान्यता र राष्ट्रियहितहरुलाई प्राथमिकता दिने गरी छलफलहरु भए पनि बताउनुभयो ।
प्रधानमन्त्री ओलीले मोदीसँग विगतमा गरिएका कतिपय सम्झौताहरुलाई यथासक्या छिटो कार्यान्वयन गर्नका लागि पनि सहमित भएको बताउनुभयो । उहाँले उपयुक्त समयभित्र त्यस्ता सम्झौताहरु कार्यान्वयन गर्नका लागि समयसीमा तोक्ने विषयमा पनि सहमति भएको जानकारी दिनुभयो ।

यस्तै, दुई देशका कृषिमन्त्रीहरु बसेर के–के विषयमा कसरी अगाडि बढ्ने भन्ने कुरा तय गर्ने सहमति भएको पनि उहाँले संसदलाई जानकारी गराउनुभयो ।

नेपाल र भारतबीचको व्यापारमा चरम असन्तुलन रहेको अवगत गराउँदै त्यसलाई कम गर्नका लागि आफूले मोदीसँग कुरा राखेको पनि उनले जानकारी दिनुभयो । व्यापार घाटालाई तत्काल कम गर्नका लागि तीन महिना भित्र नै छलफल गरेर अगाडि बढ्ने र नेपालबाट निर्यात हुन सक्ने अदुवा, अलैंची लगायतका वस्तुलाई सहज रुपमा कसरी भारत निकासी गर्ने भन्ने विषयमा अध्ययन गरिने पनि जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले आफूले मोदीसँग थप चारवटा हवाईमार्गका लागि स्वीकृति दिन पनि कुरा उठाएको र त्यसमा भारत सकारात्मक रहेको बताउनुभयो । उहाँले थप चारवटा रुट नेपाललाई दिनका लागि प्राविधिकहरुको टोलीले अध्ययन गर्ने र सेप्टेम्बर भित्र निर्णय गर्ने जानकारी दिनुभयो । साभार : कान्तिपुर दैनीकबाट ।।