दुई भारतीय लडाकु विमानलाई खसालेको पाकिस्तानी सञ्चारमाध्यमको दावी

प्राविधिक खराबीका कारण विमान दुर्घटना भएको हो : भारतीय सन्चारमाध्यम

इस्लामावाद,फागुन,१५-

पाकिस्तानी वायुसेनाको विमानले भारतीय लडाकु विमानलाई खसालेको पाकिस्तानी सञ्चारमाध्यमले दावी गरेका छन् ।

बुधबार पाकिस्तानी वायुसेनाको कारवाहीमा भारतीय लडाकु विमान खसालिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका हुन् । बुधबार बिहान भारत प्रशासित जम्मु कश्मीरको बडगाम नजिकै भारतीय वायुसेनाको विमान खसेको थियो ।

भारतीय सञ्चारमाध्यमले उक्त विमान प्राविधिक खराबीका कारण दुर्घटना भएको दावी गरिरहँदा पाकिस्तानी सञ्चारमाध्यमले भने उक्त विमान पाकिस्तानी वायुसेनाको कारवाहीमा खसालिएको दावी गरेका छन् ।

आजतक लगायत सञ्चारमाध्यमले पाकिस्तानी लडाकु विमान भारतीय क्षेत्रमा आएको जनाएका छन् । ती सञ्चारमाध्यमअनुसार पाकिस्तानी विमानले भारतीय क्षेत्रमा विस्फोटक खसालेको दावी पनि गरेका छन् । 

उता, पाकिस्तानी च्यानल एआरवाईका अनुसार पाकिस्तानी वायुसेनाले दुईवटा भारतीय विमानलाई लक्षित गरी आक्रमण गरेको छ । भारतीय क्षेत्रमा दुर्घटना भएको भनिएको भारतीय वायुसेनाको विमान पाकिस्तानी आक्रमणमा खसालिएको पनि सो च्यानलले दावी गरेको छ ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार एउटा भारतीय विमान बडगाममा र अर्को विमान पाकिस्तानी सीमा क्षेत्रमा खसालिएको हो । यता, भारतले पनि पाकिस्तानी विमानलाई खसालेको दावी गरेको छ । एजेन्सी.